आगामी महासंघ निर्वाचनबारे मोरङ उद्योग व्यापार संघमा छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको चुनाव प्रचार–प्रसार टोलीसँग मोरङ उद्योग व्यापार संघले भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।

चैत्र १२ गते बिहीबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका विभिन्न प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघका अध्यक्षहरू सहभागी रहेको टोलीलाई संघमा स्वागत गरिएको थियो । कार्यक्रम मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव संजय कुमार श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष राठीसहित निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह लगायत संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले प्रचार टोलीलाई स्वागत गरेका थिए ।

भेटघाट तथा छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका उम्मेदवारहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको महासंघमा उत्तरदायी, अनुभवी र क्षमतावान नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । साथै, यस्तो नेतृत्व चयनका लागि मोरङ उद्योग व्यापार संघले आवश्यक साथ, सहयोग तथा समर्थन निरन्तर प्रदान गर्ने प्रतिबद्धता जनाएको जानकारी दिइएको थियो ।

Share News