१२ वर्षपछि बन्यो सडक पुल, २४.२२ करोडमा भएको थियो ठेक्का सम्झौता

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ । पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ ।

पुल निर्माणको सम्झौता अनुरूप त्यतिबेला काम सुरु भएर ३ वटा पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि डिजाइन परिवर्तन भएर पुल निर्माण हुन १२ वर्ष लागेको हो ।

‘पुलको फाउन्डेसनमै समस्या देखिएपछि डिजाइन परिवर्तन गरेर पुल निर्माण गर्न समय लाग्यो,’ डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर हरिसप्रसाद जोशीले भने, ‘पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भइसकेको छ ।’ 

उनका अनुसार उक्त पुल निर्माणका लागि ३ पटकसम्म म्याद थप गरिएको थियो । दोदा नदीमा पुल नहुँदा वर्षौंदेखि यहाँका स्थानीयले आवतजावतमा समस्या झेल्दै आएका थिए ।

‘पुल बनेपछि हामीलाई आवतजावतमा सहज भएको छ, वर्षातमा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता थियो । पुल बनेपछि यहाँका स्थानीयलाई ठूलो राहत भएको छ,’ स्थानीय भूपेन्द्र चौधरीले भने । 

नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले बाध्य भएर ज्यान नै जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय रमेश महर बताउँछन् । 

‘नदीपारि लालझाडीमा बसाइ रहेका धेरैको वारि कृष्णपुर नगरपालिकामा खेती छ । पुल बनेपछि यहाँका स्थानीय हर्षित छन्,’ उनले भने । 

उनले उक्त नदीमा पुल नहुँदा यहाँका स्थानीयहरू रोपाइँको सिजनमा सास्ती खेप्दै आएको बताए । पुल निर्माणका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

Share News