काठमाडौं । सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् । उनले प्रधानमन्त्री बालेन शाहसँगै आजै शपथ ग्रहण गर्ने छन् । ३५ वर्षीय लम्साल रूपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका हुन् ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उनले नेपाली कांग्रेसका हीराबहादुर केसीलाई ४२ हजार ८ सय ६३ मतान्तरले हराउँदै संसदीय यात्रा तय गरेका थिए ।
उनले खसेको ९६ हजार ८ सय ५९ सदरमध्ये ५४ हजार ८ सय ४५ मत प्राप्त गरेका थिए । कांग्रेसका केसीले ११ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए ।
काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह मेयर हुँदा उनले पूर्वाधार एवं वातावरणविज्ञका रुपमा सचिवालयमा काम गरेका थिए ।