काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन् । शपथ ग्रहणसँगै सांसदहरूको औपचारिक जिम्मेवारी सुरु भएको छ भने सेवा-सुविधा पनि लागू भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
सांसदहरूले ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३’ अनुसार तलब तथा अन्य सुविधा पाउनेछन् । सांसदहरुले तलबसहित विभिन्न बैठक भत्तामा उपस्थित भएरबापत मासिक १ लाख रुपैयाँ हाराहारी र सेवा सुविधा पाउने देखिन्छ ।
सांसदहरूको मासिक तलब ६६ हजार ७० रुपैयाँ तोकिएको छ । यसबाहेक, उनीहरूले मासिक १ हजार रुपैयाँ विशेष भत्ता पनि पाउँछन् । संसदीय समिति वा संसद् बैठकमा सहभागी भएबापत दिनको १ हजार रुपैयाँ बैठक भत्ता उपलब्ध गराइन्छ । तर, समिति र संसद् बैठक एउटै दिन परेमा दोहोरो भत्ता भने पाइँदैन । बैठकमा सहभागी हुनका लागि १ हजार रुपैयाँ सवारी भाडा पनि दिइन्छ ।
काठमाडौं उपत्यकामा आफ्नै घर नभएका सांसदहरूले मासिक १८ हजार रुपैयाँ घरभाडा पाउँछन् भने घर भएकालाई ९ हजार रुपैयाँ मर्मतसम्भार खर्च दिइन्छ । सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट तथा पत्रपत्रिका) का लागि मासिक ३ हजार रुपैयाँ र बिजुली-पानीका लागि २ हजार रुपैयाँ उपलब्ध गराइन्छ ।
त्यसैगरी, सांसदलाई एकमुष्ट १५ हजार रुपैयाँ फर्निचर खर्च पनि प्रदान गरिन्छ । तलब र अन्य सुविधासहित सांसदहरूको मासिक आम्दानी १ लाख रुपैयाँभन्दा बढी पुग्ने देखिन्छ, जुन बैठक सहभागिताको आधारमा फरक पर्न सक्छ ।
आधिकारिक कामका लागि देशभित्र भ्रमण गर्दा दैनिक २ हजार ५ सय रुपैयाँ भत्ता दिइन्छ भने विदेश भ्रमणमा प्रतिदिन २२५ अमेरिकी डलर उपलब्ध गराइन्छ । विदेश भ्रमणका क्रममा १० लाख रुपैयाँसम्मको यात्रा बिमा पनि व्यवस्था गरिएको छ। विदेश भ्रमण भत्ता भने सभामुखको स्वीकृतिपछि मात्र पाइन्छ ।
सांसदहरूलाई औपचारिक विदेश भ्रमणका लागि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रदान गरिन्छ । स्वास्थ्य सेवाअन्तर्गत सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा परामर्श शुल्क तथा अस्पताल खर्चमा सहुलियत पाइने व्यवस्था छ । कार्यकालमै सांसदको मृत्यु भएमा परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिन्छ भने अपाङ्गता भएका सांसदलाई एकमुस्ट ५० लाख रुपैयाँ सहयोग दिने प्रावधान छ ।