काठमाडौं । बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
को हुन् बालेन ?
बालेनले एक इन्जिनियर, र्यापर, स्वतन्त्र युवा अभियन्ता र काठमाडौं महानगरपालिकाका मेयर लगायतका परिचयहरूलाई समेट्दै उनले नेपाली राजनीतिमा एउटा नयाँ अध्याय सुरु गरेका छन् ।
नेपालको समकालीन राजनीतिक इतिहासमा केही यस्ता पात्रहरू उदाएका छन् जसले परम्परागत बाटोको यात्रालाई मोडेर नयाँ सम्भावनाको ढोका खोलेका छन् । तिनैमध्ये एक हुन् बालेन्द्र शाह, जसलाई आम रूपमा बालेन भनेर चिनिन्छ ।
शाहको जन्म २०४७ सालमा भएको हो । उनका बुबा सरकारी सेवामा थिए भने आमा गृहिणी हुन् ।
उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन् । आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन् । उनको पुख्र्यौली थलो मधेस प्रदेशको महोत्तरी जिल्ला हो ।
उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन् । इन्जिनियरिङ अध्ययनको क्रममा उनी समाजका संरचनागत समस्याहरूसहित सहरी योजना, अव्यवस्थित विकास, प्रदूषण र प्रशासनिक कमजोरीप्रति झन् संवेदनशील बनेको उनको सचिवालयले जनाएको छ ।
इन्जिनियरिङ अध्ययनसँगै बालेनले संगीत क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका छन् । उनी नेपाली ¥याप संगीतमा सामाजिक मुद्दाहरू उठाउने कलाकारका रूपमा चिनिएका थिए । उनका गीतहरूमा भ्रष्टाचार, राजनीतिक विकृति, सामाजिक असमानता, युवाको निराशा जस्ता विषयहरू प्रमुख रूपमा उठेका छन् ।
संगीतसँगै शाह सामाजिक अभियन्ताको रूपमा पनि सक्रिय थिए । उनले विशेषगरी काठमाडौंको अव्यवस्थित सहरीकरण, फोहोर व्यवस्थापन, ट्राफिक समस्या र भ्रष्टाचारविरुद्ध आवाज उठाए । यसले उनलाई युवा विद्रोही आवाजको रूपमा स्थापित गर्यो । उनी नेपाली ¥याप ब्याटल दोस्रो लिगका विजेता पनि हुन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिए । त्यतिबेला धेरैले उनको उम्मेदवारीलाई प्रतीकात्मक मानेका थिए । किनकि उनका प्रतिस्पर्धीहरू ठूला राजनीतिक दलका शक्तिशाली उम्मेदवार केशव स्थापित, सृजना सिंह थिए । तर बालेनले परम्परागत राजनीतिक समीकरणलाई उल्ट्याउँदै जित हासिल गरे । बालेनले विशेषगरी युवाहरूको ठूलो समर्थन पाए । युवाहरूको नजरमा उनी आफ्नो मान्छेको रूपमा प्रस्तुत भए ।
जनतामा स्थापित दलप्रति निराशा थियो । बालेन त्यसको विकल्प बने । उनले सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गरे । उनको एजेन्डा स्पष्ट थियो सफा सहर, पारदर्शी प्रशासन र कानुनको कडाइ । यिनै एजेण्डामा उनले निर्वाचन जिते ।

मेयर बनेपछि बालेनले केही साहसिक र विवादास्पद निर्णयहरू पनि लिए । काठमाडौंका सडक छेउका अवैध संरचना हटाउने अभियान सुरु गरियो । यसले ट्राफिक व्यवस्थापनमा सुधार ल्यायो ।
सिसडोल समस्या समाधानका लागि पनि बालेनले पहल गरेका थिए यद्यपि यो पूर्ण रूपमा समाधान हुन सकेको छैन । उनको मेयरको कार्यकालमा सामुदायिक विद्यालय सुधारका लागि विभिन्न कार्यक्रमहरू लागू गरिए । सेवाहरूलाई डिजिटल बनाउने प्रयास गरियो ।
बालेनको लोकप्रियता काठमाडौंमा मात्र सीमित थिएन, देशैभरि नै लोकप्रियता चुलिएको थियो । धेरैले उनलाई भविष्यका सम्भावित प्रधानमन्त्रीका रूपमा हेर्न थालिसकेका थिए । जुन उनले देशको चालीसौं प्रधानमन्त्रीको रूपमा शपथ लिएसँगै पूरा भएको छ ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी भएका हुन् । प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि मेयरबाट राजीनामा दिएका उनी रास्वपामा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका हुन् ।
रास्वपाले शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको थियो । रास्वपाले पूर्वघोषणाअनुरुप शाहलाई बिहीबार प्रधानमन्त्री बनाउन संसदीय दलको नेता चयन गरेको थियो ।
काठमाडौं नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले उच्च माध्यमिक तहको शिक्षा भिएस निकेतनबाट पास गरेका हुन् । उनले स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट पूरा गरेका हुन् । त्यहाँ उनले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए । उनले स्नातकोत्तर तहको अध्ययन भारतमा गरेका हुन् । भारतको कर्नाटकबाट स्ट्रकचरल इन्जिनिरिरिङ अध्ययन पूरा गरेका शाहलाई निर्माणसम्बन्धी कार्यको अनुभव पनि छ ।