काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम कानुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा उनी कानुनमन्त्री बनेकी हुन् ।
कानुनकी जानकार रहेकी उनी अधिवक्तासमेत हुन् । गौतम यसअघि २०७९ को चुनावमा काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन् । २७ वर्षको उमेरमा प्रतिनिधिसभामा प्रत्यक्ष रूपमा निर्वाचित उनी सबैभन्दा कान्छी सदस्य थिइन् ।
२०८२ को निर्वाचनमा उनले चितवन- ३ बाट उम्मेदवारी दिएकी थिइन् । जहाँ उनले भरतपुर महानगरकी पूर्वमेयर रेनु दाहाललाई पराजित गरिन् । उनले ५९ हजार २७७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका रेनु दाहालले २० हजार ६१५ मत पाइन् ।
२०५२ सालको असारमा जन्मेकी सोविता कानुनमा स्नातक उत्तीर्ण छन् । उनले सांसद नीति नियम बनाउने थलो भएको हुँदा आफ्नो शिक्षा र अनुभव यो पदका लागि उपयुक्त हुने भन्दै मतदातासामु गएकी थिइन् ।
उनले आफ्नो बाल्यकाल साधारण सामाजिक परिवेशमा बिताएकी हुन्, जसले उनलाई समाजका वास्तविक समस्या बुझ्न मद्दत गरेको देखिन्छ । गौतमले काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातक डिग्री हासिल गरेकी छिन् । उनले कानुन, शासन र सार्वजनिक नीतिमा बीए एलएलबीको कोर्स पूरा गरेकी छिन् ।
विद्यार्थी जीवनदेखि नै नेतृत्व विकास, सार्वजनिक बोलाइ र सामाजिक सरोकारका विषयमा उनले सक्रिय सहभागिता जनाउँदै आएकी छन् । गौतमको राजनीति महिला सशक्तिकरण, सामाजिक न्याय र समावेशी विकाससँग जोडिएको छ। उनी युवा र महिलाहरूलाई प्रेरित गर्ने नेतृका रूपमा चिनिन्छिन् ।
उनले चार वर्षभन्दा बढी समयदेखि नेपाल टेलिभिजनको लागि ‘स्वास्थ्य सरोकार’ टेलिभिजन कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
गौतमले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी छन् ।