मेयरमा पराजित, ‘अटेरी’ देखि पर्यटन मन्त्रालयको कमानसम्म : गनेस पौडेलको नयाँ यात्रा

काठमाडौं । पोखराको सडक र चोकहरूमा कहिले पठन संस्कृतिको वकालत गर्दै त कहिले बेथितिविरुद्ध ‘अटेरी’ अभियानको झण्डा बोक्दै हिँड्ने एउटा परिचित अनुहार हो, गनेस पौडेल । हिजोका अभियन्ता र लेखक पौडेल अब देशको पर्यटन क्षेत्रको बागडोर सम्हाल्ने गरी मन्त्रीको कुर्सीमा पुगेका छन् ।

२०७९ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिँदा पौडेलले दलीय एकाधिकार र भ्रष्टाचारविरुद्ध ‘अटेरी अभियान’ को विगुल फुकेका थिए । त्यसबेलाको पराजयले उनलाई थकाएन, बरु अझ ठूलो मञ्चका लागि तयार गर्यो । हालै सम्पन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत ३९ हजार ८८३ मतका साथ सानदार जित हासिल गर्दै पौडेल व्यवस्था परिवर्तनको मुद्दा बोकेर सिंहदरबार छिरेका हुन् ।

नागरिकतामा ‘खडगराज’ नाम भएपनि साहित्यिक र सामाजिक वृत्तमा उनी ‘गनेस’ नामले नै स्थापित छन् । उनी केवल राजनीतिज्ञ मात्र होइनन्, एक कुशल लेखक र अनुवादक पनि हुन् ।

२०७४ सालमा प्रकाशित उनको पहिलो उपन्यास ‘पैताला’ ले उनलाई नेपाली आख्यानमा बलियो परिचय दियो । विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको कृति ‘अफ् माइस एण्ड मेन’ लाई उनले ‘मुसा मानुष’ का रूपमा नेपालीमा अनुवाद गरी आफ्नो भाषिक पकडलाई प्रमाणित गरिसकेका छन् ।

पोखरामा बौद्धिक बहस र पठन संस्कृतिको लहर ल्याउने ‘¥यान्डम रिडर्स सोसाइटी अफ नेपाल’का परिकल्पनाकारमध्ये उनी एक हुन् ।

२०३६ सालमा पोखराको मझेरीपाटनमा जन्मिएका पौडेल शैक्षिक रूपमा पनि उत्तिकै अब्बल छन् । उनले पोखरा विश्वविद्यालयबाट एमबिए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन् । शिक्षण पेशा र सामाजिक पैरवीमा लामो अनुभव सँगालेका पौडेलले अब आफ्नो व्यवस्थापकीय र बौद्धिक क्षमता पर्यटन मन्त्रालयमा खर्चनेछन् ।

वातावरण, सम्पदा, कला र संस्कृतिको संरक्षणमा विगतदेखि नै प्रखर आवाज उठाउँदै आएका पौडेलका लागि पर्यटन मन्त्रालय एक सुहाउँदो जिम्मेवारी हो । उनले नीति निर्माण र स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Share News