वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता वादी

काठमाडौं । सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेकी सीता वादी समुदायबाट पहिलो मन्त्री बनेकी हुन् ।

दलित समुदायभित्र पनि सामाजिक, आर्थिक रूपमा निकै पछाडि रहेको वादी समुदायले पहिलो पटक मन्त्री पाएको हो । 

कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरको नयाँगाउँमा २०५२ साल भदौ १३ गते जन्मिएकी हुन् । सीताको बाल्यकाल आफ्ना बुवाआमासँगै भेरी नदीको किनारमा बालुवा चल्नमै बित्यो ।  

अन्य वादी समूहजस्तै सीताको परिवार पनि भूमिहीन छ ।

गरिब परिवारमा जन्मेर पनि सीताले विद्यालयलाई भने निरन्तरता दिएकी थिइन् । घन्टौं हिँडेर विद्यालय जानुपर्ने बाध्यता थियो । उनी १३ वर्ष हुँदा एउटा संस्थाको सहयोगमा उनी पढ्न काठमाडौं आउने अवसर जुर्यो । 

काठमाडौं आएपछि उनको जीवनले नयाँ मोड लियो । उनले काठमाडौंमा शिक्षामात्र पाइनन्, आत्मसम्मान र अधिकारको बारेमा पनि जान्ने बुझ्ने मौका पाइन् । उनी पढ्दै त्यहीँ संस्थामा काम गर्न थालिन् । 

पढ्दै दलित र गरिबका विरुद्ध आवाज उठाउँदै आएकी सीतालाई रास्वपाले समानुपातिक सांसदमात्र नबनाई मन्त्री नै बनाएकाे हाे ।

Share News