काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएका सुनिल लम्सालले प्रधानमन्त्री बालेन शाहसँगै शुक्रबार (आज) शपथ ग्रहण गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लम्सालले रुपन्देही १ बाट चुनाव जितेका थिए ।
उनले नेपाली कांग्रेसका हीराबहादुर केसीलाई ४२ हजार ८ सय ६३ मतान्तरले हराउँदै संसदीय यात्रा तय गरेका थिए । उनले खसेको ९६ हजार ८ सय ५९ सदरमध्ये ५४ हजार ८ सय ४५ मत प्राप्त गरेका थिए । कांग्रेसका केसीले ११ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए ।
सिभिल इन्जिनियर रहेका लम्साल विकास बुझेको नेताका रूपमा मतदाताको रोजाइमा परेको धेरैको बुझाइ छ ।
३५ वर्षे लम्साल लामो समयदेखि पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गर्दै आएका युवा हुन् । उनले काठमाडौं महानगपालिका र बालेन्द्र शाह मेयर हुँदा उनको सचिवालयमा प्रमुख सल्लाहकार तथा भौतिक पूर्वाधार विज्ञका रुपमा काम गरेका थिए । यति मात्रै होइन, महानगरपालिकामा बालेनले चलाएको सुधार अभियान र पूर्वाधार विकासको पछाडि लम्सालको प्राविधिक र रणनीतिक दिमाग रहेको मानिन्छ ।
टुकुचा उत्खननदेखि, सडकका फुटपाथ विस्तार, र अलपत्र परेका आयोजनाहरूलाई गति दिने काममा उनले खेलेको भूमिकाका कारण बालेनले उनलाई देशकै पूर्वाधारको कमाण्ड समेत दिएका दिएका हुन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ का लम्सालले तिलोत्तमामै रहेको लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको निती मिनाक्क्षी इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चलर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
अहिले उनले काठमाडौं विश्वविद्यालयबाट सोलिड वेष्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि गर्दैछन् ।
लम्सालले काठमाडौं महानगरपालिकामा नगर पूर्वाधार तथा वातावरण विज्ञका साथै यस क्षेत्रको भैरहवा र पोखराको अन्तराष्ट्रिय विमानस्थल, सिंहदरबार पुन: निर्माणसहित देशका ३५ जिल्लामा नमुना विद्यालय तथा १२ जिल्लाका जिल्ला अस्पतालको पूर्वाधार विकास परियोजनामा महत्त्वपूर्ण भूमिमा निर्वाह गरेर काम गरेका छन् ।
रूपन्देहीमा निर्माणाधीन एक्स्टा ओभल क्रिकेट स्टडियमको पूर्वाधारको काम पनि उनले गरिरहेका छन् ।