निजामती प्रशासनभित्रका संयन्त्रहरूसँग पार्टीको संलग्नता नरहेको रास्वपाको प्रष्टोक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती प्रशासनभित्र सक्रिय विभिन्न समूह, अभियान वा युनियन शैलीका संयन्त्रसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता कुनै पनि संरचनासँग पार्टीको आबद्धता, समर्थन वा संलग्नता नरहेको बताएका हुन् ।

विज्ञप्तिमा पार्टीको नाम र नेतृत्व जोडेर केही व्यक्तिहरूले स्वार्थ सिद्ध गर्न खोजेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता भ्रममा नपर्न आम कर्मचारी तथा सरोकारवालाहरूलाई बुर्लाकोटीले आग्रह गरेका छन्।

‘निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हार्दिक अपिल गर्दछौं।’

रास्वपाले पछिल्लो समय निजामती प्रशासनभित्र पार्टीको नाम जोडेर गतिविधि भइरहेको भन्ने सूचनाप्रति गम्भीर चासो व्यक्त गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

Share News