वरीयतामा चित्त नबुझेपछि अमरेशले गरे मन्त्रीपद अस्वीकार

काठमाडौं । नेपाली राजनीतिमा केही यस्ता पात्रहरू छन् जसले परम्परागत बाटो मात्र पछ्याउँदैनन् बरु समयअनुसार नयाँ बाटो निर्माण गर्छन् । तीमध्ये एक हुन्, अमरेशकुमार सिंह । उनलाई नेपाली राजनीतिमा चतुर खेलाडीका रूपमा चिन्ने गरिन्छ । उनले हरेक राजनीतिक परिस्थितिको सूक्ष्म विश्लेषण गर्दै आफ्नो चाल तय गर्ने गरेको देखिन्छ । 

लामो समय कांग्रेसको राजनीति गरेका सिंह बालेन्द्र शाहको मन्त्रिपरिषदमा मन्त्री बन्ने चर्चा थियो । तर अन्तिम समयमा प्रधानमन्त्री बालेनलाई फोन गरेर उनले आफूलाई मन्त्रीबाट हटाउन अनुरोध गरे । 

सिंह निकट स्रोतका अनुसार प्रधानमन्त्री बालेनले आग्रह गरेपछि अर्थमन्त्रीपछिको दोस्रो वरीयतामा परराष्ट्र मन्त्रालय पाए उनले काम गर्ने इच्छा व्यक्त गरेका थिए।

सुरुमा सिंहले मन्त्री बन्न अनिच्छा देखाएका थिए तर, प्रधानमन्त्री बालेनले आग्रह गरेपछि उनले आफूलाई परराष्ट्र मन्त्रालय दिन आग्रह गरेका थिए । सुरुमा बालेनले सिंहको प्रस्तावमा सहमति जनाएपनि अन्तिममा उनलाई परराष्ट्र मन्त्रालय नदिइएको स्रोतले जनाएको छ ।

सिंह निकट स्रोतका अनुसार उनले मन्त्री बन्न चाहेका छैनन् ।

लामो समय नेपाली कांग्रेस पार्टीमा सक्रिय रहेका सिंहले २०७९ को आमनिर्वाचन अगाडि पार्टी त्यागेर स्वतन्त्र राजनीतिक यात्रा सुरु गरे र सर्लाही– ४ मा विजयी भएरै छाडे । 

त्यसपछि आम निर्वाचन २०८२ को पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै सिंहले फेरि एकपटक आफ्नो राजनीतिक टाइमिङ प्रमाणित गरेका छन् । सोही निर्वाचनमा उनले कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै संसदमा पुनरागमन गरे, जसले उनलाई राष्ट्रिय राजनीतिमा अझ चर्चित बनायो ।

आजभन्दा ५५ वर्ष पहिले मधेस प्रदेशको सर्लाही जिल्लामा जन्मिएका अमरेश कुमार सिंह मधेसकै सामाजिक राजनीतिक परिवेशमा हुर्किएका नेता हुन् । सानैदेखि बहस, नेतृत्व र सामाजिक मुद्दामा रुचि राख्ने उनी विद्यालय जीवनदेखि नै सक्रिय रहने गरेको जानकारहरू बताउँछन् । 

प्रारम्भिक शिक्षा आफ्नै गृहजिल्लाबाट पूरा गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं पुगे । त्रिभुवन विश्वविध्यालय अन्तर्गतका कलेजहरूमा राजनीतिशास्त्र, समाजशास्त्र वा कानुन अध्ययन गरेका सिंहले भारतको जवाहारलाल नेहरु विश्वविद्यालयवाट पीएचडीको उपाधिसमेत प्राप्त गरेका छन् । 

विद्यार्थी जीवनमै उनी विभिन्न लोकतान्त्रिक आन्दोलन र विद्यार्थी संगठनसँग जोडिएका नेतासमेत हुन् । 

सिंहको राजनीतिक पहिचान नेपाली कांग्रेसबाट सुरु भएको हो । विद्यार्थी र युवा राजनीतिबाट अघि बढ्दै उनले पार्टीभित्र आफ्नो स्थान बनाएका थिए ।

मधेसका पहिचान, प्रतिनिधित्व र विकासका मुद्दाहरूलाई सशक्त रूपमा उठाउँदै उनले आफूलाई फरक धारको नेताका रूपमा स्थापित गरेका हुन् । उनी सधैं स्पष्ट रूपमा आफ्नो धारणा राख्ने, आवश्यक पर्दा पार्टी नेतृत्वको आलोचना गर्न पनि नहिच्किचाउने नेताका रूपमा चिनिन्थे ।

उनको यही स्पष्टवादिता कहिलेकाहीँ विवादको कारण पनि बन्यो, तर यसले उनलाई जनतामाझ निर्भीक नेताको छवि बनाइदिएको देखिन्छ ।

अमरेश कुमार सिंहको संसदीय यात्रा निरन्तर सफलताले भरिएको देखिन्छ । २०६५ सालको पहिलो संविधानसभा निर्वाचनपछि उनी समानुपातिक प्रणालीबाट संसदमा प्रवेश गरे । त्यसपछि २०७० मा सर्लाहीबाट प्रत्यक्ष निर्वाचित हुँदै उनले आफ्नो जनाधार प्रमाणित गरे ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनको लहर देशभरि देखिँदा पनि उनले नेपाली कांग्रेसबाटै जित हासिल गरे । यो जितले उनलाई बलियो क्षेत्रीय नेता मात्र होइन, प्रतिस्पर्धी राजनीतिमा टिक्न सक्ने व्यक्तित्वका रूपमा स्थापित ग¥यो ।

तर २०७९ को निर्वाचनमा पार्टीले उनलाई उम्मेदवार नै नबनाएपछि उनले विद्रोहको बाटो रोजे । स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दै उनले पुनः जित हासिल गरे । यो घटना उनको राजनीतिक जीवनको महत्त्वपूर्ण मोड बन्यो, जसले पार्टीभन्दा माथि उठेको उनको व्यक्तिगत प्रभाव समेत देखायो ।

२०७९ पछि स्वतन्त्र सांसद बनेका सिंहले संसदमा अझ स्वतन्त्र रूपमा आफ्ना विचार राख्न थाले । उनले परम्परागत दलहरूको कार्यशैलीमाथि आलोचना गर्दै वैकल्पिक राजनीतिक सोचको आवश्यकतालाई संसदमा निरन्तर औंल्याइरहे । यही सन्दर्भमा २०८२ को निर्वाचनअघि उनी रास्वपामा प्रवेश गरे । नयाँ दलसँगको उनको सहकार्यलाई धेरैले रणनीतिक कदमका रूपमा हेरेका थिए ।

उक्त निर्वाचनमा सिंहले नेपाली राजनितिमा सफल मानिएका कांग्रेसका शक्तिशाली सभापति गगन थापालाई पराजित गरे । निर्वाचनमा उनले थापालाई पराजित गर्नु व्यक्तिगत जित मात्र नभई परम्परागत शक्तिमाथि नयाँ राजनीतिक धारको चुनौती पनि हो ।

Share News