शिक्षा सुधारमा महानगरको अनुभव देशभर विस्तार गर्ने मन्त्री पोखरेलको उद्घोष

विश्वविद्यालयमा हुने राजनीतिको अन्त्य गर्ने प्रतिबद्धता

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले पदभार ग्रहण गरेका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भइसकेपछि शितलनिवासबाट शपथ लिई सिंहदरबारमा उनले पदभार ग्रहण गरेका हुन्। 

मन्त्री पोखरेलले काठमाडौं महानगरमा सुरु गरेको शिक्षा सुधारको प्रयास देशभर विस्तारै गर्ने बताए । 
करिब साढे तीन वर्षमा महानगरका शिक्षा सुधारको प्रयास गरेकाले अब देशभरका सबै पालिकामा यो प्रयास गरिने उनले जानकारी दिए । 

उनी भन्छन्, ‘अहिले  जनमानसमा रास्वपा आउनेबित्तिकै आजको भोलि विकासले फड्को मार्ने अपेक्षा गरेको छ तर, एकैदिन कुनै परिवर्तन सम्भव छैन । हामीले गर्ने भनेको पनि पहिले भइरहेका राम्रा प्रयासलाई आत्मसाथ र गलत प्रयासलाई सुधार्ने हो ।’ 

मन्त्री पोखरेलले यो कार्यमा सहयोग गर्न मन्त्रालयका सबै कर्मचारीको साथ र सहयोग आवश्यक रहेको बताए ।

‘ब्युरोक्रेसी र लिडरसिप भनेको एकअर्कासँग नमिलिकन संसारमा कहीँ पनि काम हुँदैन, हजुरहरूप्रति पूर्ण विश्वास छ जुन किसिमले अगाडि कार्यक्रमहरू भइरहेको थियो त्यही किसिमले अगाडि बढाउने हो । हामी आउनेबित्तिकै यो परिवर्तन गर्ने केही हुँदैन, जुन किसिमको छ त्यही किसिमले कार्यक्रम अगाडि बढाइन्छ,’ उनले भने ।

उनले शिक्षा क्षेत्रमा बजेट कम रहेको गुनासो पहिलेदेखि आउने गरेको बताउँदै अब बढाउने आफ्नो प्रयास रहने बताए । 

‘यही आर्थिक वर्षको बजेट बढाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा तत्काल भन्न सकिँदैन,’ उनले भने, ‘आगामी आर्थिक वर्षको योजना बनाएर अगाडि बढ्न सकिन्छ ।’ 

मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा १० प्रतिशत बजेट पुर्याउनुपर्ने बताउँदै त्यसो हुन नसकेको उल्लेख गर्दै यो विषयमा अध्ययन गरेर काम गर्ने बताए । 

उनले विद्यालय र विश्वविद्यालयमा भएको राजनीति अन्त्य र नेपालका विश्वविद्यालय र अन्य देशका विश्वविद्यालयले गरेका राम्रा कामको सुरुवात गरिने पनि बताए ।

Share News