काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ इलेक्ट्रिक स्कुटर एथर रिज्टा एस औपचारिक रूपमा सार्वजनिक गरेको छ । यसअघि उपलब्ध रिज्टा जेडको सफलतालाई निरन्तरता दिँदै रिज्टा लाइनअपअन्तर्गत नयाँ स्कुटर नेपाली बजारमा ल्याइएको हो ।
नेपाली परिवारका लागि सरल, व्यावहारिक र पहुँचयोग्य बनाउने उद्देश्यले स्कुटर डिजाइन गरिएको वैद्य इनर्जीका सीईओ सुर्यांश वैद्यले बताए । उनका अनुसार स्कुटरसँगै उपलब्ध एथर एस्योरेन्स प्याकेजले इलेक्ट्रिक सवारीमा स्विच गर्न चाहने ग्राहकका वास्तविक चिन्ताहरू सम्बोधन गर्नेछ ।
एस्योरेन्स प्याकेजअन्तर्गत एथरका आफ्नै डिजाइनका ब्याट्री प्याकहरूमा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुनेछ, जसलाई ५ वर्ष वा ६० हजार किलोमिटरसम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको छ । यी ब्याट्रीहरू विभिन्न राइडिङ अवस्थाहरूमा एक दशकभन्दा बढी परीक्षण गरिएको कम्पनीले जनाएको छ ।
एथरले नेपालभर रणनीतिक स्थानहरूमा ३५ सार्वजनिक फास्ट चार्जर स्थापना गरिसकेको छ, जुन दुईपांग्रे ईभीका लागि सबैभन्दा ठूलो फास्ट चार्जिङ नेटवर्क भएको दाबी गरिएको छ । यी स्टेशनहरूमा एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा उपलब्ध हुनेछ ।
देशभर रहेका एथर एक्सपेरियन्स सेन्टरमार्फत सहज तथा भरपर्दो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । साथै सीमित अवधिका लागि वार्षिक मर्मत सम्झौतामा ग्राहकहरूले २० प्रतिशत छुट पनि पाउनेछन् ।
रिज्टा एसमा २.७ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा १२३ किलोमिटरको आईडीसी रेन्ज प्रदान गर्छ । स्कुटरले ४.३ किलोवाट पिक पावर उत्पादन गर्ने, अधिकतम गति ८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने तथा ० देखि ४० किलोमिटर प्रतिघण्टा गति ४.७ सेकेन्डमा हासिल गर्ने कम्पनीको दाबी छ । यसले २२ एनएम टर्क उत्पादन गर्छ ।
दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटरमा फराकिलो सिट, प्रशस्त बुट स्पेस र ठूलो स्टोरेज सुविधा दिइएको छ, जसले सहरदेखि ग्रामीण सडकसम्मको यात्राका लागि उपयुक्त बनाएको छ ।
सुरक्षाका लागि अटो होल्ड, फल सेफ र इमर्जेन्सी स्टप सिग्नलजस्ता सुविधा समावेश गरिएको छ, जसले विविध भौगोलिक अवस्था र व्यस्त ट्राफिकमा सवारी चलाउँदा आत्मविश्वास बढाउने कम्पनीको विश्वास छ ।
एथर रिज्टा एसको मूल्य २ लाख ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । तर लन्च अफरअन्तर्गत पहिलो १५० ग्राहकले २० हजार रुपैयाँ छुट पाउनेछन्, जसअनुसार स्कुटरको मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ पर्नेछ । ग्राहकहरूले ९९९ रुपैयाँमै बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसअघि नेपाली बजारमा उपलब्ध रिज्टा जेडमा केही सुधार गर्दै कम मूल्यमा रिज्टा एस ल्याइएको हो । रिज्टा जेडमा ३.७ किलोवाट आवर ब्याट्री प्याक रहेको छ, जसले १५९ किलोमिटर रेन्ज प्रदान गर्छ र यसको मूल्य ३ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको छ ।
रिज्टा लाइनअपकै परिष्कृत स्कुटर कम मूल्यमा खोज्ने ग्राहकका लागि रिज्टा एस उपयुक्त विकल्प बन्ने अपेक्षा गरिएको छ ।