काठमाडौं । नेपालको लुब्रिकेन्ट बजारलाई विश्वस्तरका नवीनतम मापदण्डसँग जोड्ने उद्देश्यका साथ लक्ष्मी ल्युब आयलले नेपालमै पहिलो पटक आईएलएसएसी जीएफ–७ (ILSAC GF-7) मापदण्डमा आधारित एपीआई एसपी ग्रेडको नयाँ प्यासेन्जर कार इन्जिन आयल रेन्ज सार्वजनिक गरेको छ ।
नेपालका लागि टोटल इनर्जिजको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले हालै आयोजित च्यानल पार्टनर्स मिट २०२६ कार्यक्रममा उक्त लुब्रिकेन्ट सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यससँगै नेपालमा पहिलो पटक जीएफ–७ मापदण्डमा आधारित लुब्रिकेन्ट औपचारिक रूपमा उपलब्ध भएको छ ।
कार्यक्रममा हाई–पर्फमेन्स रोयल क्रसर १५डब्लू–५० (२.५ लिटर) सेमी–सिन्थेटिक मोटरसाइकल आयल पनि सार्वजनिक गरिएको छ । विशेष गरी रोयल इन्फिल्ड मोटरसाइकललाई लक्षित गरी तयार गरिएको उक्त इन्जिन आयल क्लच प्रोटेक्ट टेक्नोलोजीसहित उपलब्ध रहेको छ, जसले मोटरसाइकलको क्लचको आयु बढाउने कम्पनीले जनाएको छ ।
देशभरबाट २०० भन्दा बढी च्यानल पार्टनरहरूको सहभागिता रहेको कार्यक्रममा टोटल इनर्जिज मार्केटिङ इन्डिया प्रालिका सीईओ तथा एक्जिक्युटिभ डाइरेक्टर विकेन नजरियान, सिनियर म्यानेजर–एक्सपोर्ट्स प्रविण कुमार तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठसहित कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य आकर्षण टोटल इनर्जिज क्वार्ट्ज जीएफ–७ रेन्ज सार्वजनिक गर्नु थियो । यसअन्तर्गत क्वार्ट्ज ९००० फ्युचर जीएफ–७ ०डब्लू–२० र ५डब्लू–३० लगायतका तीन प्रमुख उत्पादनहरू सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यी इन्जिन आयलहरू नवीनतम आईएलएसएसी जीएफ–७ मापदण्डअनुसार विकसित गरिएका हुन्, जसलाई विशेष गरी टर्बोचार्ज्ड तथा उच्च इन्धन दक्षता भएका आधुनिक पेट्रोल इन्जिनयुक्त सवारी साधनका लागि डिजाइन गरिएको बताइएको छ । नयाँ फर्मुलेसनले लो–स्पिड प्रि–इग्निसन (एलएसपीआई) विरुद्ध प्रभावकारी सुरक्षा, इन्धन दक्षता सुधार तथा इन्जिन सफाइमा उल्लेखनीय सुधार प्रदान गर्ने कम्पनीको दाबी छ ।
कार्यक्रममा उत्कृष्ट व्यवसायिक साझेदारहरूलाई पनि सम्मान गरिएको थियो । ‘डिलर अफ द इयर २०२५’ का रूपमा जोरपाटीस्थित शंकर यमुना अटो पार्ट्स, ‘रिटेलर अफ द इयर २०२५’ का रूपमा नक्सालस्थित मोटर मार्ट अटो पार्ट्स तथा ‘बेस्ट ओईएम/फ्लिट अफ द इयर २०२५’ का रूपमा एलआई सर्भिसलाई घोषणा गरिएको छ । डिलर अफ द इयरलाई थाइल्याण्ड भ्रमणको अवसर प्रदान गरिएको भने बेस्ट रिटेलरलाई वासिङ मेसिन पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमलाई थप आकर्षक बनाउन लक्की ड्रको समेत व्यवस्था गरिएको थियो, जसअन्तर्गत विजेतालाई १९० लिटर क्षमताको फ्रिज प्रदान गरिएको थियो । कम्पनीका अनुसार कार्यक्रम केवल उत्पादन सार्वजनिक गर्ने उद्देश्यमा सीमित नभई देशभर फैलिएको वितरण सञ्जाललाई थप सुदृढ बनाउने रणनीतिक प्लेटफर्मका रूपमा आयोजना गरिएको हो ।
जीएफ–७ प्रविधियुक्त नयाँ इन्जिन आयल तथा मोटरसाइकल लुब्रिकेन्ट सार्वजनिकसँगै नेपाली अटोमोबाइल प्रयोगकर्ताले आधुनिक इन्जिन प्रविधिका लागि उपयुक्त नेक्स्ट जेनेरेसन लुब्रिकेन्ट प्राप्त गर्ने अपेक्षा गरिएको छ ।