यस्तो छ दीपक खड्काको पक्राउ पुर्जी, विवाद के हो ?


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार बिहान पक्राउ गरेको हो ।

गृहमन्त्री सुधन गुरुङका अनुसार उनलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको छ । 

उनलाई जारी गरिएको पक्राउ पुर्जीमा भनिएको छ, ‘तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (दफा ९ को उपदफा ६ सग सम्बन्धित) बमोजिम यो पक्राउ पुर्जी जारी गरिएको छ ।’


उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । २०७९ सालमा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनी २०८० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

जेनजी आन्दोलनअघि उनी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत बनेका थिए । 

null


के हो विवाद ? 

खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको लैनचौरस्थित जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको तर भाडा नतिरेको भनेर विवादमा छन् । नेपाल स्काउटले खड्काले नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा जमिन हडपेको भन्दै त्यो खाली गराउन र ५ करोड ४१ लाख रुपैयाँ भाडा उठाइदिन भन्दै राज्य व्यवस्था तथा सुशासन समितिसँग सहयोग माग गरेको थियो ।

गत २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । सो म्याद सकिएकै दिन काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको निर्देशनमा महानगरपालिकाले डोजर लगाएर त्यहाँका संरचना भत्काएको थियो ।

Share News