ठूलो संख्यामा भन्सार छलीको सामग्रीसहित जयसवाल पक्राउ

काठमाडौं । भन्सार छलेर काठमाडौं भित्र्याएका सामानसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २३ वर्षीय अमितप्रसाद जयसवाललाई पक्राउ गरेको हो ।

भन्सार छली, चोरी पैठारी गरी विभिन्न किसिमका फेस क्रिम, चकलेट लगायतका सामानहरू काठमाण्डौंको विभिन्न स्थानहरूमा भण्डारण गरि राखेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जयसवाललाई काठमाडौंको आलोकनगरबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर आवश्यक कारबाही गर्नका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाण्डौं पठाईएको अनुसन्धान कार्यालयले जनाएको छ ।

फिक्सड्रिमा स्याडो एसपीएफ ३० प्लस जेल लेखिएको क्रिम ७ हजार १ सय थान, सिजल्याण्ड फोरु कोजी चोखो ट्रुफल्स १४५ थान, लुसिरो चोखो ट्रुफिल्स लेखिएको ३ सय थान, अमुल चोक्लोट सिरप लेखिएको ५३ थान, स्मोकी पोप्पिङ क्यान्डी लेखिएको ९८ थान, अमित प्रसाद जयसवालको साथबाट फेला परेको आइएमआइ नम्बर ८६५८६५०६८५०८६७०र८६५६६५०६८५०८६६२, सीम कार्ड, ओप्पो मोबाइल १ थान, ७गोदामबाट बरामद भएको हाइटेक लेखिएको कम्प्युटर डेस्कटप १ थान र इनो लेमन फ्लेभर कार्टुन १४ थान लगायत अन्य सामग्री बरामद भएका छन् ।

Share News