काठमाडौं । यातायात विज्ञ आशिष गजुरेलले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले सिन्धुली जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका थिए । गजुरेलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको आचारसंहिताअनुसार सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको बताएका छन् ।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उनले जम्मा २४ लाख ४९ हजार ३ सय ३५ रुपैयाँ खर्च भएको जनाएका छन् ।
उनले सवारी साधनमा ३ लाख रुपैयाँ, मतदान प्रशिक्षणमा १ लाख ७५ हजार रुपैयाँ, नमुना मतपत्रमा ७ लाख ५० हजार रुपैयाँ, मतदाता छपाईमा २२ हजार २ सय रुपैयाँ, सम्पर्क व्यवस्थापनमा २ लाख ८५ हजार रुपैयाँ, झण्डा र ब्याच छपाईमा ३ लाख रुपैयाँ, ब्यानर तथा स्टिकरमा ३ लाख १० हजार रुपैयाँ, प्रतिनिधि स्वयमसेवक व्यवस्थापनमा २ लाख २२ हजार रुपैयाँ तथा उम्मेदवारी मनोनयन दर्तामा १० हजार रुपैयाँ गरी जम्मा खर्च २४ लाख ४९ हजार ३ सय ३५ रुपैयाँ खर्च भएको जनाएको छ ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुली क्षेत्र नं २ सांसद बनेका हुन् ।