राष्ट्रिय सभा उपाध्यक्षमा लीला भण्डारी सर्वसम्मत चयन हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लीला भण्डारी सर्वसम्मत रूपमा चयन हुने निश्चित भएको छ । 

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच भएको सहमतिअनुसार भण्डारीले आइतबार (आज) मनोनयन दर्ता गर्दैछिन् ।

दलहरूबीचको समझदारीअनुसार उपाध्यक्ष पद एमालेले पाउने सहमति जुटेको हो । एमालेले भण्डारीलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो । 

दलहरूबीच जुटेको सहमतिअनुसार भण्डारीलाई अगाडि बढाएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् ।  

‘अन्य दलहरूले समिति सभापति लिने कुरा भएको छ,’ उनले भनिन् ।

सहमतिकै आधारमा उम्मेदवारी परेको अवस्थामा भण्डारी निर्विरोध निर्वाचित हुने देखिएको छ।

Share News