काठमाडौं । राजेश मेटल क्राफ्ट्स लिमिटेडले ३ महिनामा २ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २ अर्ब २० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।
कम्पनीले अघिल्ला वर्षहरूमा भने उतार-चढावपूर्ण आम्दानी देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आव २०८०/८१ मा ४ अर्ब १० करोड १० लाख रुपैयाँ, आव २०७९/८० मा ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँ र आव २०७८/७९ मा ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीका अनुसार प्रतिस्पर्धात्मक दबावका कारण बिक्री मूल्य घट्नु, कच्चा पदार्थको लागतमा उतार-चढाव आउनु तथा उत्पादन बिक्री मिश्रणमा परिवर्तन हुनु नाफामा असर पार्ने प्रमुख कारण हुन् । उच्च मार्जिन दिने पानाको हिस्सा २०२४ मा ४७ प्रतिशतबाट घटेर २०२५ मा ३७ प्रतिशतमा झरेको छ भने कम मार्जिन दिने पाइपको हिस्सा ३१ प्रतिशतबाट बढेर ४२ प्रतिशत पुगेको छ ।
सन् १९९३ मा श्रवण के. अग्रवालद्वारा स्थापना गरिएको यो कम्पनी पारिवारिक स्वामित्वमा सञ्चालन हुँदै आएको छ । हाल कम्पनीमा ६ जना सम्बन्धित व्यक्ति र ४ वटा सम्बद्ध संस्थाबीच सेयर स्वामित्व वितरण गरिएको छ ।
राजेश मेटल क्राफ्ट्स एक इस्पात उत्पादक कम्पनी हो, जसले स्टील पाइप, जस्ती (ग्याल्भेनाइज्ड) तथा रंगीन (कलर कोटेड) पाना लगायतका उत्पादनहरू उत्पादन गर्दै आएको छ । कम्पनीले मुख्य कच्चा पदार्थका रूपमा हट रोल्ड कुइल भारतबाट आयात गरी आफ्नै कोल्ड रोलिङ मिलमार्फत प्रशोधन गरेर विभिन्न इस्पातजन्य वस्तु उत्पादन गर्छ ।
तरलताको हिसाबले कम्पनीको अवस्था मध्यम रूपमा सन्तोषजनक देखिएको छ । २०२६ जनवरीसम्म करिब ९० करोड ५० लाख रुपैयाँ (२९ प्रतिशत) अप्रयुक्त ऋण सीमा रहेको छ, जुन २०२५ जुलाईमा करिब २९ करोड ६० लाख रुपैयाँ (१२ प्रतिशत) मात्र थियो ।
यद्यपि, नाफा मार्जिनमा निरन्तर गिरावट देखिएको छ । २०२४ मा ६.८ प्रतिशत रहेको मार्जिन २०२५ मा घटेर ४.४ प्रतिशतमा पुगेको छ भने २०२६ को पहिलो आधामा अझै घटेर ३.५ प्रतिशतमा सीमित भएको छ । उत्पादन मिश्रणमा आएको परिवर्तन, लागत वृद्धि, प्रतिस्पर्धा र निर्माण क्षेत्रको सुस्तता आएको कम्पनीले जनाएकाे छ । कम्पनीले हाल विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।