काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएकोमा बधाई दिएका छन् ।
लामिछानेले व्यक्तिगत तथा पार्टीको तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
अर्याल सर्वसम्मत निर्वाचित भएपछि सभापति लामिछानेले सबै दल र सांसदहरूको सहयोगप्रति धन्यवाद जनाएका छन् ।
रास्वपाको प्रस्ताव सर्वसम्मत रूपमा पारित हुँदा प्रस्तावक लामिछानेसहित स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोबिता गौतमले अर्याललाई समर्थन गरेका थिए ।
सभापति लामिछानेले नवनिर्वाचित सभामुख अर्यालले निष्पक्षता, पारदर्शिता र संसदीय मर्यादा कायम राख्दै सदनलाई प्रभावकारी बनाउने जनाएका छन् ।
सभापति लामिछानेले यसअघि ज्येष्ठ सदस्यका रूपमा सदन सञ्चालन गरेका अर्जुननरसिंह केसीलाई समेत धन्यवाद दिइएका छन् ।
यस्तो छ बधाई तथा शुभकामना :
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति श्री डोलप्रसाद अर्याल व्यवस्थापिकाको सर्वोच्च पद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनु भएकोमा म व्यक्तिगत रूपमा तथा पार्टीको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
रास्वपाको तर्फबाट प्रस्तुत उक्त उम्मेदवारीलाई प्रतिनिधि सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रस्तावकका रूपमा मैले तथा समर्थकहरू डा। स्वर्णिम वाग्ले, श्री सुनिल लम्साल र श्री सोबिता गौतमले समर्थन गरेको प्रस्तावलाई निर्विरोध रूपमा पारित गरी निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ।
नवनिर्वाचित सम्माननीय सभामुख श्री डोलप्रसाद अर्यालज्यूले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ गर्ने दिशामा उहाँले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्नु हुनेमा म विश्वस्त छु। साथै, सबै राजनीतिक दल तथा माननीय सांसदहरूसँग सहकार्य र समन्वय गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने उहाँको दृष्टिकोण सराहनीय छ।
सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्परा अनुरूप उम्मेदवारी दिएदेखि नै उहाँले पार्टीका जिम्मेवारीबाट अलग रहँदै उच्च राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धता प्रदर्शन गर्नुभएको थियो। यस ऐतिहासिक अवसरमा, सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।
साथै, ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्दै प्रारम्भिक चरणमा सदनको कार्य सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाउनु हुने माननीय अर्जुननरसिंह केसीज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।