काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अबदेखि शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । नेप्से सञ्चालक समितिले आइतबार बसेको बैठकमा शुक्रबार पनि बजार खुला गर्ने निर्णय गरेको हो ।
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार आइतबार सेयर कारोबार बन्द रहनेछ ।
तर, साताको पाँचै दिन सेयर कारोबार सुनिश्चित गर्न शुक्रबार पनि कारोबार खुला गर्ने निर्णय नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँले बताए ।
यसअघि पनि सरकारले २०७९ साल जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले शुक्रबार बजार खोल्ने व्यवस्था गरेको थियो। त्यस समय पनि सातामा पाँच दिन सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार भएको थियो । पछि सरकारले आइतबारको बिदा खारेज गरेपछि नेप्से पुरानै कार्यतालिकामा फर्किएको थियो ।