काठमाडौं । भ्रष्टाचार, ठगी र अपराधविरुद्ध कडा अभियान चलाइरहेका गृहमन्त्री सुधन गुरुङ स्वयं नै पोखराको फेवाताल किनारको जग्गा प्रकरणमा ठगीको शिकार भएको उनको सचिवालयले बताएको छ ।
फेवाताल अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिइरहेका गृहमन्त्री गुरुङकै नाम जोडिएको जग्गा लिज प्रकरणमा स्पष्टीकरण दिदै सचिवालयले कानुनी उपचारमा जाने बताएको हो । प्रारम्भिक विवरणअनुसार उनले लिजमा लिएको जग्गा नै ६५ मिटर मापदण्डभित्र पर्ने अतिक्रमित क्षेत्र भएको पुष्टि भएपछि उनी आफै ठगिएको दाबी गर्दै कानुनी उपचारको बाटो रोज्ने भएका हुन् ।
गृहमन्त्री गुरुङ पछिल्लो समय पोखरा महानगरपालिका सँग सहकार्य गर्दै फेवाताल वरपर मापदण्ड मिचेर बनेका संरचना हटाउने अभियानमा छन् । त्यही अभियानकै क्रममा विगतमा आफूले लिजमा लिएको जग्गा पनि अतिक्रमणभित्रै परेको तथ्य बाहिरिएपछि प्रकरण थप पेचिलो बनेको हो ।
झुक्याएर ठगियो : गृहमन्त्रीको सचिवालय
गृहमन्त्री गुरुङको सचिवालयका अनुसार करिब ८ वर्षअघि साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित एड्भेन्चर स्पोट्र्स नेपाल सञ्चालन गर्ने योजना अघि बढाइएको थियो । सो क्रममा जग्गा लिँदा जग्गाधनीले मापदण्डभित्र नपर्ने भन्दै विश्वास दिलाएको तर पछि वास्तविकता फरक रहेको पाइएको सचिवालयको दाबी छ ।
सचिवालयले भनेको छ देशमै केही गरौँ भन्ने सोचका साथ ठूलो लगानी र सपना बोकेर सुरु गरेको काममा हामीलाई गलत जानकारी दिइयो । लालपूर्जामा समेत सुरक्षित देखाइएको जग्गा पछि जाँदा ६५ मिटर मापदण्डभित्र पर्ने रहेछ भन्ने थाहा भयो ।
गुरुङको सचिवालयका अनुसार गुरुङले आफू ठगिएको थाहा पाउनेबित्तिकै नैतिकताका आधारमा सम्पूर्ण निर्माण र लगानी रोकिएको स्पष्ट पारेको छ ।
हामीलाई झुक्याइएको पुष्टि भएपछि तुरुन्तै काम रोकेको सचिवालयले जनाएको छ । एउटा युवा उद्यमीको सपना र लगानीमाथि खेलबाड भएको छ, यो स्वीकार्य छैन सचिवालयले भनेको छ ।
गृहमन्त्री गुरुङसहित उनका साझेदारहरू अब कानुनी प्रक्रियामा जाने तयारीमा रहेको वताइएको छ । ठगी भएको दाबी गर्दै सम्बन्धित जग्गाधनीविरुद्ध मुद्दा दायर गर्ने संकेत उनको सचिवालयले दिएको छ ।