फेवातालको २० रोपनी जग्गा विवादमा हर्क साम्पाङको आग्रह : जग्गा विवाद प्रस्टयाइदिनुस्

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको भनिएको फेवातालको २० रोपनी जग्गा प्रकरणबारे तत्काल सार्वजनिक स्पष्टीकरण दिन आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले विवाद गम्भीर बन्दै गएको संकेत गर्दै गृहमन्त्री गुरुङलाई पत्रकार सम्मेलनमार्फत स्पष्ट धारणा सार्वजनिक गर्न सुझाएका हुन् । साम्पाङले लेखेका छन् खास कुरा के हो पत्रकार सम्मेलन गरेर प्रष्ट पार्नुस । यो अब सामान्य कुरा रहेन, नैतिकताको सवाल खडा भयो उनले लेखेका छन् ।

विवादको केन्द्रमा फेवाताल

फेवाताल क्षेत्रसँग सम्बन्धित २० रोपनी जग्गामा गृहमन्त्री गुरुङको नाम मुछिएको चर्चा सार्वजनिक भएपछि राजनीतिक वृत्त तातेको छ । यद्यपि, उक्त जग्गाको स्वामित्व, किनबेच प्रक्रिया वा कानुनी स्थिति सम्बन्धी आधिकारिक विवरण भने अझै स्पष्ट भइसकेको छैन । साम्पाङले विगतमा पनि सार्वजनिक मुद्दाहरूमा खुला र आक्रामक धारणा राख्दै आएका छन् । यसपटक पनि उनले सोही शैलीलाई निरन्तरता दिँदै सिधै गृहमन्त्रीलाई लक्षित गरेका हुन् ।

विवाद चुलिँदै गए पनि गृहमन्त्री गुरुङले हालसम्म यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् । स्रोतका अनुसार मन्त्रालयभित्र विषयबारे आन्तरिक छलफल भइरहेको भए पनि सार्वजनिक धारणा भने अझै आउन बाँकी छ ।

जानकारहरुका अनुसार यो प्रकरण केवल जग्गा विवादमा सीमित नभई सरकारको पारदर्शिता र नैतिक उत्तरदायित्वसँग जोडिएको विषय बनेको छ । यदि छिट्टै स्पष्टीकरण नआएमा यसले राजनीतिक रूपमा ठूलो असर पार्न सक्ने आँकलन गरिएको छ ।

Share News