काभ्रेका होटलहरूको गरियो स्तरीकरण, यी हुन तीन र दुइ तारे होटल

काठमाडौं । काभ्रेपलाञ्चोकका तीन नगरपालिकामा अनुगमन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेण्टको स्तरीकरण गरेको छ । कार्यालयले बनेपा, धुलिखेल र पनौती नगरपालिकाभित्र रहेका होटल तथा रेष्टुरेण्टको अनुगमन तथा मूल्याङ्कन गरी स्तरीकरण गर्नुका साथै लोगोसमेत वितरण गरेको हो ।

कार्यालयका डिभिजन प्रमुख मनिष चापागाईंको नेतृत्वमा गठित संयुक्त अनुगमन टोलीले सोमबार स्थलगत निरीक्षण गर्दै ‘खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेण्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४’ अनुसार अनुसूची-१ मा उल्लेखित मापदण्डका आधारमा मूल्याङ्कन गरेको हो । खाद्य स्वच्छता समूहले ५० वटा सूचकका आधारमा होटल तथा रेष्टुरेण्टको स्तरीकरण गर्ने व्यवस्था रहेको छ । 

टोलीमा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम, होटल एसोसिएसन अफ काभ्रेपलाञ्चोकका अध्यक्ष प्रह्लाद प्याकुरेल, जिल्लास्थित उद्योग वाणिज्य सङ्घका महासचिव रजित पलाञ्चोके, उपभोक्ता मञ्चका जिल्लाध्यक्ष माधव श्रेष्ठलगायतको सहभागिता थियो ।

अनुगमन टोलीका अनुसार प्रत्येक सूचकलाई दुई अङ्कका दरले मूल्याङ्कन गरी प्राप्त अङ्कका आधारमा होटललाई विभिन्न श्रेणीमा वर्गीकरण गरिन्छ । ९० भन्दा माथि अङ्क प्राप्त गर्ने होटललाई अति उत्तम (तीन तारे हरियो लोगो), ८०-८९ अङ्क प्राप्त गर्ने होटललाई उत्तम (दुई तारे हरियो लोगो), ६५-७९ अङ्क प्राप्त गर्ने होटललाई सन्तोषजनक (एक तारे हरियो लोगो), ५०-६४ अङ्क प्राप्त गर्ने होटललाई सामान्य (पहेँलो लोगो) प्रदान गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख चापागाईंले जानकारी दिए ।

मूल्याङ्कनका क्रममा धुलिखेलका दुसित थानी, होटल सारथी, हिमालय होराइजन होटल, बनेपाको आगन्तुक रिसोर्ट, हिमालय दृश्य, तथा पनौती नगरपालिका-बल्थलीस्थित थुम्की रिसोर्टले अति उत्तम (तीन तारे) हरियो लोगो प्राप्त गरेका छन् । त्यस्तै, पनौतीस्थित बल्थलीका बल्थली माउन्टेन रिसोर्ट र बल्थली भिलेजले उत्तम (दुई तारे) हरियो लोगो प्राप्त गरेका छन् ।

यसअघि डिभिजन कार्यालयले गत फागुन १७ गते होटल तथा रेष्टुरेण्टका सञ्चालक तथा व्यवस्थापकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा प्रमाणपत्र नवीकरण, सरसफाइ तथा ५० वटा सूचकसम्बन्धी मापदण्डबारे जानकारी गराइएको थियो ।

चापागाईंका अनुसार जिल्लाभर रहेका होटल तथा रेष्टुरेण्टको क्रमशः अनुगमन गरिनेछ । स्तरीकरण गरिएका होटल व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी प्रतिबद्धता गराई प्रमाणपत्र प्रदान गरिएको छ । साथै, छ महिनाभित्र पुनः निरीक्षण गर्दा सुधार नभएको पाइए सम्बन्धित होटलको स्तरीकरण एक तह घटाइने पनि जनाइएको छ । 

Share News