काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् । नगर प्रमुख इश्तियाक अहमद खाँले अर्बौं लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले विमानस्थल सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै भगवान गौतम बुद्धको नामबाट निर्माण भएको विमानस्थल सञ्चालन भए देशमा आर्थिक गतिविधि चलायमान बन्दै जाने विश्वास व्यक्त गरे । लुम्बिनीको विकास हुनु भनेको समग्र मुलुकको आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनु रहेको उनको भनाइ छ ।
‘विमानस्थल नियमित सञ्चालन भए भैरहवाको मात्र विकास हुँदैन, यसले समग्र मुलुकको विकासमा टेवा पुर्याउँछ, विमानस्थल सञ्चालन भएपछि पर्यटकको आवागमन बढ्छ,’ उनले भने । नगर प्रमुख खाँले विमानस्थल सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए ।
नगर प्रवक्ता मुक्तिनाथ यादवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा यस क्षेत्रका उद्योगी-व्यवसायी धराशायी अवस्थामा पुगेको बताए । उनले विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न वर्तमान सरकारसँग आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिका-४ का वडाअध्यक्षसमेत रहेका प्रवक्ता यादवले विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारको तर्फबाट पहल गर्ने बताए ।