इरानलाई ढुङ्गेयुगमा पुर्‍याइदिने ट्रम्पको चेतावनी, भन्छन्– भोलि राति नै देश समाप्त हुनसक्छ !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा समाप्त गर्न सकिने चेतावनी दिएका छन् ।उनले इरानले आफूले दिएको समयसीमाभित्र अमेरिकासँग सम्झौता गर्न असफल भयो भने त्यो समय मंगलबार राति (अमेरिकी समय) नै हुन सक्छ ।

ट्रम्पको प्रस्तावअनुसार इरानले होर्मुज स्ट्रेट खोल्नुपर्नेछ, जहाँबाट विश्वभरको करिब २० प्रतिशत तेल आपूर्ति ओसारपसार हुन्छ । ट्रम्पले दिएको यो डेडलाइन मंगलबार वाशिङ्टन डीसी समयअनुसार राति ८ बजे (नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजे) समाप्त हुँदैछ ।

ह्वाइट हाउसमा ट्रम्पले इरानका वर्तमान नेताहरू सद्भावनाका साथ वार्ता गरिरहेका छन्, तर नतिजा अझै अनिश्चित रहेको बताए ।

यसैबीच इरानले अस्थायी युद्धविरामका प्रस्तावहरू अस्वीकार गरेको छ । यसको सट्टा उसले द्वन्द्वको स्थायी अन्त्य र प्रतिबन्ध हटाउन माग गरेको छ ।

अमेरिकी संयुक्त सेना प्रमुखका अध्यक्ष जनरल डान केन र रक्षा मन्त्री पीट हेगसेथ पनि ट्रम्पसँगै उक्त प्रेस सम्मेलनमा उपस्थित थिए ।

गत साता मात्र अमेरिकी सुरक्षा बलहरूले दक्षिणी इरानमा खसालिएको एक एफ–१५ लडाकु विमानका दुई चालक सदस्यलाई सफलतापूर्वक उद्धार गरेका थिए ।

ट्रम्पको प्रेस सम्मेलनको ठूलो भाग सोही उद्धार अभियानमा केन्द्रित थियो । उनले यसलाई ‘साहसी अभियान’ भन्दै प्रशंसा गरे ।

तर साथै यदि मंगलबारको डेडलाइनसम्म होर्मुज स्ट्रेट खोलिएन भने अमेरिका ईरानको ऊर्जा र यातायात पूर्वाधारमा आक्रमण गर्न सक्ने चेतावनी दिए ।

उनले सोमबार भने, ‘पूरै देशलाई एकै रातमा समाप्त गर्न सकिन्छ र त्यो रात सायद भोलि नै हुन सक्छ ।’

ट्रम्पले थपे कि डेडलाइन सकिएपछि इरानलाई ‘स्टोन एज’ (पाषाण युग) मा फर्काइनेछ । उनले भने, ‘उनीहरूसँग कुनै पुल बाँकी रहने छैन । कुनै पावर प्लान्ट पनि रहने छैन ।’

इरानले पहिले अमेरिकी मागहरू अस्वीकार गरिसकेको भए पनि ट्रम्पले अझै अमेरिकी र इजरायली आक्रमणमा इरानका धेरै नेताहरू मारिएपछि पनि इरान सद्भावनाका साथ वार्ता गरिरहेको बताए ।

एक अधिकारीका अनुसार युद्धविराम बिना कुनै पनि वार्तामा ठोस प्रगति सम्भव छैन । उनका अनुसार इरानी अधिकारीहरूसम्म सन्देश पुर्याउन र त्यहाँबाट जवाफ पाउन कठिन भइरहेको छ किनकि त्यहाँको सञ्चार प्रणाली अवरुद्ध छ ।

उनले भने, ‘इरानसम्म सन्देश पुर्याएर उचित समयमा जवाफ पाउनु सम्भव छैन । औसतमा जवाफ आउन करिब एक दिन लागिरहेको छ ।’

यसैबीच पाकिस्तान, टर्की र मिस्रले मध्यस्थताको प्रयास गरिरहेका छन् ।

आगामी रणनीतिबारे ट्रम्पले धेरै जानकारी दिएनन् । उनले केवल यति भने कि उनीसँग ‘सबैभन्दा उत्कृष्ट योजना’ छ, तर त्यसलाई सार्वजनिक गर्ने छैनन् ।

कानुनी विज्ञहरूले चेतावनी दिएका छन् कि इरानको पूर्वाधारमा जानाजानी र निरन्तर आक्रमण गर्नु युद्ध अपराधको श्रेणीमा पर्न सक्छ ।

बाराक ओबामा प्रशासनकालीन राष्ट्रिय सुरक्षा परिषद्का एक पूर्वकानुनी सल्लाहकारले सीबीएस (बीबीसीको अमेरिकी साझेदार) सँग भने, ‘सबै पावर प्लान्ट नष्ट गर्नु र नागरिकमाथि दबाब सिर्जना गरेर सरकारलाई वार्तामा ल्याउने धम्की दिनु पूर्ण रूपमा गैरकानुनी हो ।’

तर प्रेस सम्मेलनअघि युद्ध अपराधबारे प्रश्न उठ्दा ट्रम्पले आफू चिन्तित नभएको बताएका थिए । सम्मेलनमा उनको जोड थियो, ‘इरानका जनता स्वतन्त्रताका लागि दुःख सहन तयार हुनेछन्, चाहे मेरो उद्देश्य ईरानको सरकार गिराउनु नहोस् ।’

राष्ट्रपतिले अमेरिकाका प्रमुख सहयोगीहरू (नाटो, बेलायत र दक्षिण कोरिया) माथि पनि आलोचना दोर्होयाए । उनका अनुसार द्वन्द्वका बेला उनीहरू अमेरिकालाई सहयोग गर्न अघि आएनन् ।

उनले भने, ‘यो नाटो माथि यस्तो दाग हो जुन कहिल्यै मेटिने छैन । अमेरिकालाई बेलायतको आवश्यकता छैन ।’

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार २८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि अमेरिकी बलहरूले इरानमा १३ हजारभन्दा बढी आक्रमण गरिसकेका छन् ।

ट्रम्पको यस धम्कीको जवाफमा इरानले ‘अस्थायी युद्धविराम’ अस्वीकार गर्दै द्वन्द्वको ‘स्थायी अन्त्य’ को माग गरेको छ ।

आफ्नो आधिकारिक समाचार एजेन्सी आईआरएनएका अनुसार उसका प्रस्तावमा आफूमाथि लगाइएका प्रतिबन्ध हटाउन, होर्मुज स्ट्रेटबाट जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न सहयोग गर्न र आक्रमणबाट क्षतिग्रस्त नागरिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्न रहेका छन् ।

इरानले अमेरिकी–इसराइली आक्रमणको जवाफमा इसराइल र आसपासका क्षेत्रमा मिसाइल आक्रमण जारी राखेको छ । (बीबीसीबाट अनुदित तथा सम्पादित)

Share News