इन्धन संकट टार्न सरकारको नयाँ रणनीति, जोरबिजोरदेखि ‘वर्क फ्रम होम’ सम्मको तयारी

काठमाडौं  । सरकारले सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू हुनसक्ने संकेत दिएको छ । 

मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै मन्त्री प्रतिभा रावलले आवश्यकता परेको खण्डमा सवारीसाधनमा पुनः जोर–बिजोर प्रणाली लागू हुन सक्ने बताएकी हुन् ।

‘अहिलेको असहज परिस्थितिलाई व्यवस्थापन गर्न आवश्यक परे सरकारले जोर–बिजोर प्रणाली लागू गर्नेछ । हामी जनतालाई सकेसम्म ‘वर्क फ्रम होम’ (घरबाटै काम) गर्न र सवारीसाधनको हकमा विद्युतीय साधन (ईभी) को प्रयोग बढाउन हार्दिक आह्वान गर्दछौं,’ उनले भनिन् ।

मन्त्री रावलका अनुसार इन्धनको खपत घटाउन र आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले विभिन्न विकल्पहरूमाथि छलफल गरिरहेको छ ।

सरकारले तत्कालको समस्या टार्ने मात्र नभई दीर्घकालीन समाधानका लागि पनि तयारी थालेको छ । मन्त्री रावलले दिएको जानकारी अनुसार इन्धनमा इथानोल मिसावट गर्ने नीतिलाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।

त्यसैगरी, सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था अगाडि बढाइएको छ ।

आपूर्तिमा देखिएको समस्याले सर्वसाधारणमा परेको असरप्रति सरकार संवेदनशील रहेको दाबी मन्त्री रावलको  छ ।

Share News