चन्द्र ढकालका छोरा सचिन ढकालसहित अब्बल र बलियो बन्यो ज्योत्सना समूह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा एसोसिएट्सतर्फ ज्योत्सना श्रेष्ठको टिम बलियो बन्न पुगेको छ । प्रोक्सी वारमा चल्दै आएको महासंघको एसोसिएट्सतर्फको निर्वाचनमा उपाध्यक्षका उम्मेदवार ज्योत्सना समूहमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकालको प्रवेशसँगै समूह थप बलियो र सशक्त बन्न पुगेको हो ।

महासंघको निर्वाचनमा एसोसिएट्सतर्फ चन्द्र ढकालको वर्चस्व रहँदै आएको छ । आफू एसोसिएट्स उपाध्यक्ष हुँदा निर्वाचनअघि नै प्रोक्सी भोटको आधारमा सर्वसम्मत भएका चन्द्र ढकालका छोरा सचिन ढकाल ज्योत्सना श्रेष्ठ समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा चुनाव उठेसँगै चुनावी माहोल थप तातेको छ । उनको समूह थप सशक्त बनेको महासंघसम्बद्ध जानकारहरू बताउँछन् । ढकाल वरिष्ठ उपाध्यक्ष हुँदा पनि उनले सबैभन्दा बढी एसोसिएट्सतर्फकै मत पाएका थिए ।

आफूले सबै क्षेत्रलाई समावेश गरी टिम निर्माण गरेको र पूरा टिमको जित सुनिश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताइन् । अहिले पनि महासंघको एसोसिएट्सतर्फकै उपाध्यक्ष रहेकी श्रेष्ठले हालको कार्यकालमा व्यवसायीमैत्री नीति निर्माण तथा समूहगत सौदाबाजी जस्ता विषयमा आफूले धेरै काम गरेको र अझै नीतिगत पैरवी तथा व्यवसायीमैत्री वातावरण निर्माणका लागि काम गर्न बाँकी रहेकाले आफू पुनः सोही पदमा दोहोरिएको जानकारी दिइन् । 

‘हामीले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी एसोसिएट्सतर्फको सदस्य पदमा उम्मेदवारहरू छनोट गरेका छौँ,’ उनले भनिन्, ‘तसर्थ हाम्रो समूहलाई मतदान गरी जिताउन सम्पूर्ण मतदातामा हार्दिक अनुरोध गर्दछु ।’

उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्धु बस्नेत (अजित), ई. विनोद ढकाल, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, शैलेन्द्र गुरागाईं, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, शोभा ज्ञवाली, सन्दीप अग्रवाल (माखरिया) चुनावी मैदानमा छन् ।    

Share News