काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबीसम्बन्धी नयाँ सफ्टवेयरबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा चैत २४ गते बुटवलस्थित एक होटलमा आयोजित एकदिने कार्यशाला गोष्ठीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, इन्फिनिटी लघुवित्त, ग्रामीण लघुवित्त, जनउत्थान लघुवित्त लगायतका संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए ।
कार्यक्रमको उद्घाटन तथा सञ्चालन शाखा कार्यालय बुटवलका प्रमुख बसन्त के.सी.ले गरेका थिए भने स्वागत मन्तव्य नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेलले व्यक्त गरेकी थिइन् ।
गोष्ठीमा कोषले सञ्चालन गर्दै आएको कर्जा सुरक्षण कार्यक्रम तथा भावी योजनाबारे कर्जा विभागका प्रमुख प्रबन्धक विक्रान्त आचार्यले जानकारी दिएका थिए । त्यस्तै, कोषले नयाँ रूपमा लागू गर्न लागेको कर्जा सुरक्षणसम्बन्धी सफ्टवेयरबारे सूचना प्रविधि विभाग प्रमुख राजु के.सी.ले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सहभागी संस्थाका प्रतिनिधिहरूले विभिन्न जिज्ञासा राखेका थिए, जसको समाधान कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले गरेका थिए ।
कोषले बैंक तथा वित्तीय संस्थासँग निरन्तर संवाद गर्दै कर्जा सुरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने तथा बजारको आवश्यकता अनुसार सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले यस आर्थिक वर्षभर देशभर यस्ता गोष्ठी सञ्चालन गर्ने जनाएको छ ।