घाम उर्जा सेवाले आईपीओ ल्याउने, एनएमबि क्यापिटलसँग सम्झौता

काठमाडौं । घाम उर्जा सेवा लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारी स्वरूप एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । कम्पनीले नेपालभर नवीकरणीय ऊर्जाको विस्तार गर्ने लक्ष्यसहित उक्त साझेदारी गरेको जनाएको छ ।

घाम उर्जा सेवाले व्यवसायिक तथा औद्योगिक ग्राहकहरूलाई रूफटप सौर्य ऊर्जा प्रविधि उपलब्ध गराउँदै आएको छ । १५ देखि २० वर्षसम्मको विद्युत खरिद सम्झौता मोडेलमा सञ्चालन भइरहेको कम्पनीले व्यवसायहरूलाई प्रारम्भिक लगानीबिनै ऊर्जामा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्दै आएको छ ।

कम्पनीका अनुसार यस प्रविधिले कार्बन उत्सर्जन घटाउनुका साथै सञ्चालन लागत कम गर्न सहयोग पुर्याउँछ । घाम उर्जा सेवाले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत सामाजिक तथा आर्थिक प्रभाव सिर्जना गर्नुका साथै जलवायु परिवर्तनविरुद्ध सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा घाम उर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

दुवै पक्षले उक्त साझेदारीप्रति उत्साह व्यक्त गर्दै आईपीओलाई सफल बनाउन तथा सरोकारवालाहरूका लागि उत्कृष्ट प्रतिफल सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।   

Share News