शंकर ग्रुपको १ खर्ब रुपैयाँ ऋण, कुन कम्पनीको कति ?

काठमाडौं । व्यावसायिक घराना शंकर ग्रुप यतिबेला अनुसन्धानको केन्द्रमा छ । ग्रुपका अध्यक्ष शंकर अग्रवाल गत शुक्रबार (चैत २०) पक्राउ परेपछि आइतबार (चैत २२) रिहा भएका छन् भने सोही दिन उपाध्यक्ष तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् ।

प्रहरीले दुवै जनालाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी कसूरमा अनुसन्धान गर्न पक्राउ गरेको जनाएको छ । सुलभ अग्रवाललाई अदालतले ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । 

शंकर समूह अन्तर्गत दर्जनौं कम्पनीहरू सञ्चालनमा छन् । उद्योग, व्यापार, स्टील, सिमेन्ट, ऊर्जा लगायत विभिन्न क्षेत्रमा फैलिएको यो समूह देशको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । समूहको संरचना अनुसार यसको दुई प्रमुख इकाइ रहेका छन्– जगदम्बा होल्डिङ र जगदम्बा ग्रुप ।

जगदम्बा होल्डिङ्सको अध्यक्ष शुलभ अग्रवाल रहेका छन् भने जगदम्बा समूहको अध्यक्ष शाहिल अग्रवाल छन् । शाहिल अग्रवाल शंकर समूहका प्रबन्ध निर्देशक पनि हुन्, जसले समग्र समूहको नेतृत्व सम्हालिरहेका छन् ।

विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार, शंकर समूहले दर्जनौं कम्पनी सञ्चालन गर्दै आएको छ र करिब एक खर्ब रुपैयाँ बराबर ऋण बैंक तथा वित्तीय संस्थाबाट लिएको छ । 

जगदम्बा स्टिल्स 

नेपालको ठूलो इस्पात उत्पादक कम्पनी जगदम्बा स्टिल्स लिमिटेडले ३३ अर्ब १५ करोड ५२ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी सन् १९९३ अक्टोबर १ मा स्थापना भएको हो । बाराको सिमरामा रहेको यसको प्रमुख प्लान्टमा कोल्ड रोल्ड, रोलिङ मिल, तार तथा मेल्टिङ गरी चार प्रमुख उत्पादन लाइनमार्फत विभिन्न इस्पातजन्य सामग्री उत्पादन गरिन्छ ।

कम्पनीको कुल क्षमता २४ लाख ४४ हजार मेट्रिक टन रहेको छ, जसले देशको आवश्यकताभन्दा बढी स्टील उत्पादन तथा आपूर्ति गर्ने क्षमता राख्छ । यसको उत्पादन देशभरका करिब ५९० वितरकमार्फत बिक्री भइरहेको छ । 

सौर्य सिमेन्ट इन्डस्ट्रीज

सौर्य सिमेन्ट इन्डस्ट्रीज लिमिटेडले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१७ सेप्टेम्बरमा स्थापना भएको यस कम्पनीको प्रमुख उत्पादन प्लान्ट सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ ।

कम्पनीको कुल स्थापित क्षमता प्रतिदिन ३ हजार टन रहेको छ । यो कम्पनी शंकर समूह, आम्बे समूह र हुलास समूहसहित तीन प्रमुख व्यावसायिक समूहहरूको संयुक्त स्वामित्वमा रहेको छ । 

रिद्धि सिद्धि सिमेन्ट 

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१३ मा स्थापना भएको यो कम्पनी शंकर समूह र अम्बे समूहको संयुक्त लगानीमा सञ्चालनमा रहेको छ ।

कम्पनीको कुल ग्राइण्डिङ क्षमता ०.७३ मिलियन मेट्रिक टन रहेको छ भने क्लिङ्कर उत्पादन क्षमता ०.८४ मिलियन मेट्रिक टन रहेको छ । कम्पनीले ‘रिद्धि सिद्धि’ र ‘मकवानपुर सिमेन्ट’ ब्रान्ड अन्तर्गत उत्पादनहरू बजारमा बिक्री गर्दै आएको छ । कम्पनीको उत्पादन प्लान्ट मकवानपुर जिल्लाको हेटौंडा–रातोमाटेमा अवस्थित छ ।

शुभ श्री जगदम्बा सिमेन्ट मिल्स

शुभ श्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडले २ अर्ब १४ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ । सन् २००७ अगस्टमा स्थापना भएको यस कम्पनीको कुल ग्राइण्डिङ क्षमता प्रतिदिन २ हजार ६०० टन रहेको छ ।

कम्पनीमा सौरभ समूहको करिब ६० प्रतिशत र शंकर समूहको करिब ४० प्रतिशत स्वामित्व रहेको छ । यसको उत्पादन प्लान्ट पर्सा जिल्लाको छत्ता पिप्रा चोर्नी–४ मा अवस्थित छ, जुन काठमाडौंबाट करिब १२५ किलोमिटर टाढा पर्छ ।

जगदम्बा मोटर्स

जगदम्बा मोटर्स प्रालिले ५ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१० डिसेम्बर २७ मा स्थापना भएको यो कम्पनी शंकर समूह अन्तर्गत सञ्चालनमा रहेको छ ।

कम्पनी शाहिल अग्रवालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । जगदम्बा मोटर्सले नेपालभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको बजारमा महत्वपूर्ण उपस्थिति कायम गरेको छ ।

जगदम्बा हस्पिटालिटीमा 

शंकर समूहले नक्सालमा पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमार्फत हस्पिटालिटी क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाएको छ । जगदम्बा हस्पिटालिटी ग्रुप अन्तर्गत रहेको उक्त होटल आगलागीका कारण क्षतिग्रस्त भएपछि हाल पुनःनिर्माणको चरणमा रहेको छ ।

उपलब्ध तथ्याङ्क अनुसार होटल निर्माणका लागि कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ३० करोड रुपैयाँ ऋण लिएको छ । होटल पूर्ण रूपमा सञ्चालनमा आउँदासम्म करिब ७ अर्ब रुपैयाँ लगानी भइसकेको दाबी गरिएको छ । होटलमा शाहिल अग्रवालको कम्पनीको ९० प्रतिशतभन्दा बढी स्वामित्व रहेको बताइएको छ ।

जगदम्बा अटो ग्रुप

शंकर समूहअन्तर्गतको जगदम्बा अटो ग्रुपले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ९१ करोड रुपैयाँ ऋण लिएको छ । सन् २०१४ मा स्थापना भएको यो कम्पनी नेपालमा टीभीएस ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधन एसेम्बल गर्ने अधिकृत कम्पनी हो ।

कम्पनीले एसेम्बल गरेका सवारी साधनहरू आफ्नै समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालिमार्फत बिक्री वितरण गर्दै आएको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएस सवारी साधनको आधिकारिक वितरक पनि हो ।

जगदम्बा हायर पर्चेज

जगदम्बा हायर पर्चेज लिमिटेडले १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ ऋण लिएको छ । शंकर समूहको वित्तीय शाखाअन्तर्गत रहेको यो कम्पनी सन् २०१६ मेमा स्थापना भएको हो । कम्पनीले सन् २०१७ फेब्रुअरीमा नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कम्पनीका रूपमा सञ्चालन अनुमति प्राप्त गरेको थियो ।

यसको मुख्य उद्देश्य दुई पाङ्ग्रे, तीन पाङ्ग्रे (टेम्पो), चार पाङ्ग्रे सवारी साधन (अटो लोन) तथा भारी उपकरणका लागि हायर पर्चेज ऋण प्रदान गर्नु हो । उपलब्ध तथ्याङ्क अनुसार कम्पनीको अधिकांश सेयर स्वामित्व शाहिल अग्रवालसँग रहेको छ, जसले करिब ९९.८० प्रतिशत हिस्सा ओगटेका छन् । 

जगदम्बा मोबाइल

शंकर समूहअन्तर्गतको जगदम्बा मोबाइलले ९० करोड रुपैयाँ ऋण लिएको छ । नेपालमा मोबाइल तथा प्रविधि उपकरणको व्यवसायमा सक्रिय यो कम्पनी सन् २०११ जुलाई ७ मा स्थापना गरिएको हो ।

कम्पनीले रियलमी मोबाइल टेलिकम्युनिकेशन्सको गैर–विशेष आधिकारिक वितरकका रूपमा रियलमी ब्रान्डका स्मार्टफोन तथा एक्सेसरीहरू बिक्री तथा वितरण गर्दै आएको छ ।

जगदम्बा सिन्थेटिक्स

जगदम्बा सिन्थेटिक्स लिमिटेडले ३ अर्ब ५९ करोड रुपैयाँ ऋण लिएको छ । नेपालमा पोलिप्रोपाइलीन बुना कपडा र झोला उत्पादन गर्ने यो कम्पनी सन् २००२ मार्च २० मा स्थापना भएको हो ।

कम्पनीले नन-वान बुना एए र हाई डेंसिटी पोलिथिन (ज्म्एभ्) कपडा पनि उत्पादन गर्दै आएको छ, जुन झोला निर्माण र आवरण सामग्रीको रूपमा प्रयोग हुन्छ । यसको उत्पादन इकाई रुपन्देही जिल्लामा अवस्थित छ र मासिक ३ हजार मेट्रिकटन कपडा तथा झोला उत्पादन क्षमता राख्दछ ।

जगदम्बा फ्लोर एण्ड एग्रो

जगदम्बा फ्लोर एण्ड एग्रो लिमिटेडले १ अर्ब २४ करोड १६ लाख रुपैयाँ ऋण लिएको छ। भैरहवा, रुपन्देहीमा अवस्थित यसको उत्पादन कारखानाबाट आटा तथा अन्य गहुँजन्य उत्पादनहरू उत्पादन हुँदै आएका छन् ।

कम्पनी सन् २०१५ अगस्टमा स्थापना भएको हो। यसले मैदा, आटा, सुजी, चोकर र अन्य सम्बन्धित उत्पादनहरू जगदम्बा र शक्ति भोग ब्रान्ड अन्तर्गत बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीको कुल स्थापित क्षमता प्रतिवर्ष ३८ हजार २०० मेट्रिकटन रहेको छ ।

बलेफी हाइड्रोपावर लिमिटेड

बलेफी हाइड्रोपावर लिमिटेडले ५ अर्ब ४८ करोड रुपैयाँ ऋण लिएको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित ३६ मेगावाट क्षमताको अपर बलेफी-ए जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालन भइरहेको छ । उक्त आयोजना सन् २०७९ मंसिर ६ गते (नोभेम्बर २२, २०२२) देखि व्यावसायिक उत्पादनमा रहेको छ ।

जनवरी २०२६ सम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुगेको छ, जसको सम्पूर्ण स्वामित्व सर्वसाधारणमा रहेको छ । यसले कम्पनीलाई पूर्ण सार्वजनिक स्वामित्वमा रहेको ऊर्जा कम्पनीको रूपमा स्थापित गरेको छ ।

हालका प्रमुख सेयरधनीहरूमा सुशील गुप्ताको ४.३४ प्रतिशत, प्रभा गोयनका भीमसरिया ३.९८ प्रतिशत, सन्दीप कुमार शारदा ३.७६ प्रतिशत र बच्छु पौडेल २.६० प्रतिशत रहेका छन्। यसअघि सुलभ अग्रवालको नाममा १४.६० प्रतिशत सेयर स्वामित्व रहेपनि हाल उनको नाममा देखिदैँन ।

मोदी इनर्जी लिमिटेड

मोदी इनर्जी लिमिटेडले ३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनको उद्देश्यले क्रियाशील छ । सन् १९९६ नोभेम्बरमा ‘मनाङ ट्रेड लिंक प्राइभेट लिमिटेड’ का रूपमा स्थापना भएको कम्पनी सन् २०१७ मे २८ मा ‘मोदी इनर्जी प्राइभेट लिमिटेड’ मा रूपान्तरण गरिएको थियो ।

त्यसपछि सन् २०१८ जुन २१ मा कम्पनी सार्वजनिक लिमिटेड कम्पनी ‘मोदी इनर्जी लिमिटेड’ मा परिणत भएको हो । तल्लो मोदी खोला जलविद्युत आयोजना ‘रन अफ द रिभर’ प्रकारको आयोजना हो, जसले ५५२ वर्ग किलोमिटर जलाधार क्षेत्र समेटेको छ ।

आयोजनाको डिजाइन डिस्चार्ज २६.५२ घनमिटर प्रति सेकेन्ड रहेको छ, जुन ४० प्रतिशत एक्सिडेन्स फ्लोमा आधारित छ । कम्पनीको प्रमुख संस्थागत प्रवर्द्धक मोदी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड रहेको छ भने व्यक्तिगत प्रवर्द्धकमा पशुपति मुरारका र श्रीश कुमार मुरारका प्रमुख रहेका छन् ।

माथिल्लो बलेफी हाइड्रोपावर

माथिल्लो बलेफी हाइड्रोपावर लिमिटेडले ७ अर्ब २४ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी जुगल गाउँपालिकामा ४६ मेगावाट क्षमताको माथिल्लो बलेफी जलविद्युत आयोजना निर्माणमा क्रियाशील छ । कम्पनी २०१७ जनवरी ४ मा स्थापना भएको हो । उक्त आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको परियोजना हो र निर्माण, स्वामित्व, सञ्चालन तथा अन्ततः स्थानान्तरण मोडेलअनुसार सञ्चालन हुने व्यवस्था रहेको छ ।

माथिल्लो बलेफी हाइड्रोपावरका प्रवर्द्धकहरूमा गोल्यान समूह, एचआर गोयल समूह, सिद्धार्थ समूह र कसजु समूह प्रमुख रहेका छन् ।

शुलभ अग्रवाल सन् २०१० देखि शंकर समूहमा उपाध्यक्ष छन् । उनले समूह अन्तर्गत विभिन्न कम्पनीहरूमा सञ्चालक तथा निर्देशकको भूमिका निर्वाह गर्दै आएका छन् । उनी विशेषगरी जगदम्बा स्टील इण्डस्ट्रिज, जगदम्बा सिमेन्टमा प्रबन्ध सञ्चालकको भूमिकामा छन् । साथै, एसजी ग्लोबल, एसजी इन्जिनियरिङ, एसजी इलेक्ट्रोनिकमा पनि उनको सक्रिय भूमिका रहेको छ ।

शाहिल अग्रवालका विषयमा भने हालसम्म सरकारको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन । शंकर ग्रुपका प्रबन्ध सञ्चालक र जगदम्बा ग्रुपका अध्यक्ष रहेका शाहिलका विभिन्न ३३ वटा कम्पनी सञ्चालनमा रहेका देखिन्छन् । उनी विभिन्न २९ वटा कम्पनीको अध्यक्ष छन् भने ४ वटा कम्पनीमा सञ्चालकको भूमिकामा छन् । 

अकोड क्यापिन प्रा.लि.,काठमाडौं- अध्यक्ष
अजन्त होल्ङ्गिस प्रा.लि.,काठमाडौं- अध्यक्ष
अतल क्यापिटल प्रा.लि.,काठमाडौं- अध्यक्ष
सेन्त्रम क्यापिटल प्रा.लि.,काठमाडौं- अध्यक्ष
कालिका फिनकोर्प प्रा.लि., काठमाडौं- अध्यक्ष
शुभश्री जगदम्बा सिमेन्ट मिलस् प्रा.लि.,काठमाडौं- अध्यक्ष
जगदम्बा फुड प्रोसेसिङ प्रा.लि.,काठमाडौं- संचालक
जगदम्बा फुडस् प्रा.लि.,काठमाडौं- अध्यक्ष
जगदम्बा इस्पट प्रा.लि.,काठमाडौं- अध्यक्ष
जगदम्बा एक्सप्लोरेसन प्रा.लि.,काठमाडौं- अध्यक्ष
जगदम्बा रिसोर्सेस प्रा.लि.,काठमाडौं- अध्यक्ष
कर्भी ग्लोबल प्रा.लि.,काठमाडौं- अध्यक्ष
कृति एपेक्स प्रा.लि.,काठमाडौं- अध्यक्ष
युजीवन मर्चेन्ट प्रा.लि.,काठमाडौं- अध्यक्ष
वन्डर भेन्चर प्रा.लि.,काठमाडौं- अध्यक्ष
जगदम्बा इस्पीरिचस् प्रा.लि.- अध्यक्ष
जगदम्बा मोटरस् प्रा.लि.,काठमाडौं- अध्यक्ष
जगदम्बा अटो गुप्र प्रा.लि.,काठमाडौं- अध्यक्ष
शंकर अटोमोबाइलस् प्रा.लि., काठमाडौं- अध्यक्ष
शैर्य अटोमोबाइलस् प्रा.लि., काठमाडौं- अध्यक्ष
जगदम्बा अल्को वेभ प्रा.लि., काठमाडौं- अध्यक्ष
जगदम्बा हस्पीट्यालिटी ग्रुप प्रा.लि., काठमाडौं- अध्यक्ष
जगदम्बा माक्स प्रा.लि., काठमाडौं- अध्यक्ष
ए. जि. इन्जिनियरिङ्ग प्रा.लि.,काठमाडौं-अध्यक्ष
सगरमाथा लोजिस्टिकस् एण्ड त्रास्पोट प्रा.लि., काठमाडौं- अध्यक्ष
एन.के. कस्मेटिकस् प्रा.लि., काठमाडौं- अध्यक्ष
सगरमाथा माइनस् प्रा.लि., काठमाडौं- अध्यक्ष
जगदम्बा सिमेन्ट प्रा.लि., काठमाडौं- अध्यक्ष
नकासु मोटरस् प्रा.लि., काठमाडौं- अध्यक्ष
एभरेष्ट साल्ट प्रा.लि., काठमाडौं- संचालक
जगदम्बा केमिकलस् प्रा.लि.,काठमाडौं- संचालक
नागरजुन क्यापिटलस् प्रा.लि.,काठमाडौं- संचालक
जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्ट लिमिटेड,काठमाडौं- संचालक

Share News