इनड्राइभले चालकहरूका लागि २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै ड्राइभर पार्टनरहरूलाई सहयोग गर्न २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ । यस पहलमार्फत कम्पनीले चालकहरूको आर्थिक दबाब कम गर्दै उनीहरूको आम्दानीलाई स्थिर राख्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

नेपालमा राइड–हेलिङ सेवाको विस्तारसँगै हजारौं चालकहरूका लागि यो महत्वपूर्ण रोजगारीको स्रोत बनेको छ । साथै, यात्रुहरूले पनि सहज र किफायती यातायात सेवा उपभोग गर्दै आएका छन् । तर पछिल्लो समय इन्धन मूल्यमा भएको निरन्तर वृद्धिले चालकहरूको सञ्चालन खर्च बढाएको छ, जसले उनीहरूको दैनिक आम्दानीमा प्रत्यक्ष असर पुर्याएको छ । अर्कोतर्फ, यात्रुहरू पनि भाडा वृद्धि प्रति संवेदनशील रहेको अवस्थामा बजारमा सन्तुलन कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको छ ।

यही दोहोरो चुनौतीलाई सम्बोधन गर्न इनड्राइभले चालकहरूको दिगोपन र यात्रुहरूको किफायती सेवाबीच सन्तुलन कायम गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले चालक समुदायबाट उठिरहेका चासो र गुनासाहरूलाई गम्भीरतापूर्वक लिँदै, यातायात क्षेत्रका संरचनात्मक समस्याहरू समाधान गर्न भइरहेको पहलहरूलाई पनि समर्थन गरेको जनाएको छ ।

चालकहरूका लागि इन्धन सहयोग पहल

बढ्दो सञ्चालन लागतलाई ध्यानमा राख्दै इनड्राइभले २०२६ अप्रिल १५ (वैशाख २, २०८३) देखि लागू हुने गरी रु २२ लाखको इन्धन सहयोग कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । यो कार्यक्रममार्फत इन्धन मूल्य वृद्धिबाट प्रभावित चालकहरूको आर्थिक भार कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यस पहलले चालकहरूको आम्दानीमा आएको दबाबलाई न्यूनीकरण गर्नुका साथै यात्रुहरूमा थप आर्थिक भार नपार्दै सेवा निरन्तरता कायम राख्न सहयोग गर्ने लक्ष्य राखेको छ । यसले बजारअनुकूल र व्यवहारिक समाधानमार्फत चालकहरूको दिगोपन सुदृढ गर्ने तथा किफायती यातायात सेवा निरन्तर उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

चालक आम्दानी र लचिलोपन सुदृढ गर्ने प्रयास

इन्धन सहयोग पहलसँगै इनड्राइभले चालकहरूको आम्दानी वृद्धि र कार्यगत लचिलोपनलाई थप मजबुत बनाउन विभिन्न उपायहरू कार्यान्वयन गर्दै आएको छ । तीमध्ये प्रमुख पहलहरू यसप्रकार छन् :
केही चयन गरिएका राइडहरूमा कम सेवा शुल्क लागू गरिएको ।

प्लेटफर्ममा सक्रिय सहभागिता बढाउन कार्यसम्पादनमा आधारित प्रोत्साहन तथा पुरस्कार व्यवस्था र चालकहरूको कमाइ क्षमता बढाउने विभिन्न अभियान र इन्सेन्टिभ कार्यक्रमहरू । विश्वव्यापी रूपमा इनड्राइभले राइड–हेलिङ उद्योगमै सबैभन्दा न्यून सेवा शुल्क संरचना मध्ये एक कायम राख्दै आएको छ, जसले यसको 'ड्राइभर फस्र्ट' दृष्टिकोणलाई झल्काउँछ ।

साथै, इनड्राइभको पियर–टु–पियर मोडेलले यात्रु र चालकलाई भाडा प्रत्यक्ष रूपमा तय गर्न सक्ने सुविधा प्रदान गर्दछ । यसले वास्तविक समयको बजार अवस्था र सञ्चालन खर्चलाई ध्यानमा राख्दै न्यायोचित भाडा निर्धारण गर्न सहयोग र्पुयाउँछ ।

सन्तुलित र दिगो मोबिलिटी प्रणालीप्रति प्रतिबद्धता 

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, 'बढ्दो इन्धन लागतले हाम्रा ड्राइभर पार्टनरहरूको दैनिक आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ । यस्तो अवस्थामा प्लेटफर्महरूको जिम्मेवारी भनेको तत्काल राहत दिने मात्र होइन, दीर्घकालीन रूपमा चालक र यात्रु दुवैका लागि न्यायोचित र सन्तुलित प्रणाली निर्माण गर्नु हो ।'

'हाम्रो प्लेटफर्मको मूल आधार नै न्याय हो । चालकलाई सशक्त बनाउँदै सेवा सबैका लागि पहुँचयोग्य राख्नु हाम्रो प्राथमिकता हो, जसले दिगो र सन्तुलित मोबिलिटी इकोसिस्टम निर्माणमा योगदान पुर्याउँछ ।'

नेपालको मोबिलिटी क्षेत्र तीव्र रूपमा विकास भइरहेको सन्दर्भमा इनड्राइभले चालक समुदाय, साझेदारहरू तथा अन्य सरोकारवालाहरूसँग सहकार्य गर्दै चुनौतीहरूको समाधान खोज्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । कम्पनीले बजार अवस्थाको निरन्तर अनुगमन गर्दै आवश्यकता अनुसार आफ्ना कार्यक्रमहरूलाई थप परिमार्जन गर्दै लैजाने जनाएको छ ।    

Share News