बुधबार देशभर चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक/दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । 

उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा भोलिदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम कारबाही गर्न अनुरोध गरे । यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा भने बिहानैबाट असर गर्ने बताए । उनका अनुसार दिउँसो त्यसको असर काठमाडौँमा पनि आइपुग्ने छ । 

विभागले आज साँझ जारी गरेको बुलेटिनअनुसार बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्ने जनाइएको छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा भारी वर्षारहिमपातको सम्भावना रहेको पनि मौसमविद् लामिछानेले बताए ।

मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू-भागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको उनले बताए। बिहीबार पनि बदली कायम रहने छ । 
 

Share News