काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच केही दिनका लागि राहत हुने देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । ट्रम्पको घोषणासँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको छ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानमाथि हुने बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति भएको जानकारी दिए । उनले यस कदमलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक पहलका रूपमा व्याख्या गरे ।
उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँग भएको छलफलपछि लिइएको हो । उनीहरूले सम्भावित आक्रमण टार्न आग्रह गरेका थिए ।
ट्रम्पले युद्ध विराम सशर्त रहेको स्पष्ट पार्दै इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुनः खोल्नुपर्ने बताए । तनाव कम गर्न उक्त जलमार्ग खुला हुनु आवश्यक रहेको उनको भनाइ छ ।
‘यो दुई पक्षीय युद्ध विराम हुनेछ । यस अवधिमा दुवै पक्षले आक्रामक गतिविधि रोक्ने अपेक्षा गरिएको छ,’ उनले भने । उनले अमेरिकी सैन्य लक्ष्यहरू पूरा भइसकेको दाबी गर्दै दीर्घकालीन शान्ति सम्झौतामा प्रगति भएको पनि उल्लेख गरे ।