काठमाडौं । नेपालमा मर्चेन्ट बैंकिङ तथा फन्ड व्यवस्थापन क्षेत्रमा सक्रिय सिद्धार्थ क्यापिटल लिमिटेडले गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ ।
अष्ट्रेलिया तथा न्युजिल्यान्डको जोइन्ट एक्रेडिटेशन सिस्टमबाट मान्यता प्राप्त मुम्बईस्थित इन्टरनेशनल सर्टिफिकेशन सर्भिसेस प्रा.लि.ले उक्त प्रमाणपत्र प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रमाणपत्रले संस्थाको सञ्चालन प्रक्रियामा उच्च गुणस्तर, कार्यदक्षता तथा ग्राहक सन्तुष्टि कायम गर्ने प्रतिबद्धतालाई पुष्टि गरेको छ । साथै, आन्तरिक प्रणाली सुदृढ गर्ने, सेवा प्रवाहमा एकरूपता कायम गर्ने तथा संस्थागत कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने लक्ष्यलाई समेत यसले प्रतिबिम्बित गरेको छ ।
यस उपलब्धिबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले आइएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गर्नु कम्पनीका लागि महत्वपूर्ण कोशेढुंगा भएको बताएका छन् । उनले ग्राहक तथा सरोकारवालालाई भरपर्दो र उच्च गुणस्तरका वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता यसबाट थप सुदृढ भएको उल्लेख गरे ।
आइएसओ ९००१:२०१५ प्रमाणपत्र प्रक्रिया सुधार, जोखिम व्यवस्थापन तथा निरन्तर सुधारजस्ता अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गर्ने संस्थालाई प्रदान गरिन्छ ।
सिद्धार्थ क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङअन्तर्गत इश्यु व्यवस्थापन, अन्डरराइटिङ, सेयर रजिस्ट्रार, पोर्टफोलियो व्यवस्थापन तथा कर्पोरेट परामर्श सेवा, साथै फन्ड व्यवस्थापन, डिपोजिटरी र डिपोजिटरी पार्टिसिपेन्ट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले नेपाली पूँजी बजारमा स्वदेशी तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास अवलम्बन गर्दै मूल्यआधारित वित्तीय समाधान प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।