‘बिटक्वाइनको स्रष्टा’ पहिचान गरेको ‘न्यूयोर्क टाइम्स’को दाबी

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनका रहस्यमय स्रष्टा सतोशी नाकामोटोको वास्तविक पहिचानबारे दशकौंदेखि चलिरहेको बहस फेरि एकपटक चर्किएको छ। 

द न्यू वर्क टाइम्सले गरेको एक वर्ष लामो अनुसन्धानले बेलायती कम्प्युटर वैज्ञानिक एडम ब्याक नै सातोशी हुन सक्ने दाबी गरेपछि यो विषय पुनः चर्चाको केन्द्रमा आएको हो ।

सन् २००८ मा प्रकाशित ‘बिटक्वाइन : मध्यस्थकर्ता विहीन डिजिटल नगद प्रणाली’ नामक श्वेतपत्रमार्फत बिटक्वाइनको अवधारणा सार्वजनिक गरिएको थियो । त्यसपछि २००९ मा यसको सफ्टवेयर कार्यान्वयन सुरु भयो र केही वर्षमै यो विश्वव्यापी वित्तीय प्रणालीमा ठूलो प्रभाव पार्ने प्रविधि बन्यो । तर यसको आविष्कारकर्ता सातोशी नाकामोटो भने २०१०–११ तिर सार्वजनिक रूपमा हराए र आजसम्म पनि उनको वास्तविक पहिचान रहस्यमै छ ।

null

न्यूयोर्क टाइम्सको अनुसन्धान अनुसार एडम ब्याक सातोशी हुन सक्ने सम्भावना विभिन्न प्राविधिक, भाषिक र ऐतिहासिक प्रमाणका आधारमा प्रस्तुत गरिएको छ । 

null

एडम ब्याक

रिपोर्टमा विशेषगरी ‘स्टाइलोमेट्रिक एनालाइसिस’ अर्थात् लेखन शैलीको तुलना प्रयोग गरिएको छ । सातोशीका इमेल, फोरम पोस्ट र बिटक्वाइनसँग सम्बन्धित प्रारम्भिक सामग्रीहरूलाई ब्याकका पुराना लेखनहरूसँग तुलना गर्दा समान ढाँचा, ब्रिटिश अंग्रेजीको प्रयोग र केही विशिष्ट शब्द प्रयोगमा मिल्दोजुल्दो पाइएका छन् ।

यस अनुसन्धानका लागि पत्रकारले हजारौं क्रिप्टोग्राफी मेलिङ लिस्टका पोस्टहरू अध्ययन गरेका थिए, जहाँबाट सम्भावित उम्मेदवारहरूको सूची ३४ हजारभन्दा घटाएर अन्ततः एक जनामा सीमित गरिएको दाबी गरिएको छ ।

एडम ब्याक बिटक्वाइनको विकासभन्दा पहिलेदेखि नै डिजिटल मुद्रा र क्रिप्टोग्राफी क्षेत्रमा सक्रिय व्यक्ति हुन् । उनले सन् १९९७ मा ‘ह्यासक्यास’ नामक प्रणाली विकास गरेका थिए, जुन पछि बिटक्वाइनको ‘प्रूफ अफ वर्क’ मेकानिज्मको आधार बनेको मानिन्छ । साथै ब्याक सातोशीसँग प्रत्यक्ष सम्पर्कमा आएका पहिलो व्यक्तिमध्ये एक रहेको पनि उल्लेख गरिएको छ ।

तर, यी सबै दाबीहरूका बाबजुद एडम ब्याकले आफू सातोशी नभएको कुरा बारम्बार अस्वीकार गरेका छन् । उनले न्यूयोर्क टाइम्सको रिपोर्टपछि पनि उक्त दाबीलाई अस्वीकार गर्दै यसलाई संयोग मात्र भएको बताएका छन्।

null

हङ्गेरीमा रहेको बिटक्वाइनका अज्ञात संस्थापकको सालिक 

सातोशीको पहिचानबारे यस्ता दाबीहरू पहिला पनि सार्वजनिक भएका थिए । यसअघि पनि विभिन्न व्यक्तिहरू जस्तै हल फिन्ने, निक स्जाबो वा अन्य प्राविधिक व्यक्तिहरूलाई सातोशीको रूपमा प्रस्तुत गरिएको थियो, तर ती सबैले दाबी अस्वीकार गरेका थिए ।

सातोशी नाकामोटोको पहिचान महत्त्वपूर्ण हुनुको प्रमुख कारण बिटक्वाइनसँग सम्बन्धित ठूलो धनराशि हो । अनुमान अनुसार प्रारम्भिक चरणमा सातोशीले करिब १० लाखभन्दा बढी बिटक्वाइन माइन गरेका थिए, जसको मूल्य हाल अर्बौं डलर बराबर छ । यदि यी बिटक्वाइनहरू चलायमान भए भने विश्व क्रिप्टो बजारमा ठूलो प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ ।

यद्यपि क्रिप्टो समुदायका धेरै सदस्यहरू भने न्यूयोर्क टाइम्सको निष्कर्षप्रति सशंकित छन् । उनीहरूको भनाइमा अहिलेसम्म कुनै पनि दाबीलाई प्रमाणित गर्ने निर्णायक ‘क्रिप्टोग्राफिक प्रूफ’ सार्वजनिक भएको छैन । त्यसैले सातोशीको पहिचान अझै रहस्यकै विषय रहेको छ ।

केही विशेषज्ञहरू त सातोशी एकल व्यक्ति नभई समूह पनि हुन सक्ने तर्क गर्छन् । बिटक्वाइनको कोड र अवधारणाको जटिलता हेर्दा यस्तो सम्भावना बलियो देखिने उनीहरूको भनाइ छ ।

यसैबीच केहीले सातोशीको पहिचान खुलाउनु आवश्यक छैन भन्ने पनि तर्क गर्छन् । उनीहरूका अनुसार बिटक्वाइनको मूल दर्शन नै विकेन्द्रीकरण र गुमनामतामा आधारित भएकाले यसको स्रष्टाको पहिचान सार्वजनिक हुनु आवश्यक छैन ।

समग्रमा न्यूयोर्क टाइम्सको पछिल्लो अनुसन्धानले बिटक्वाइनका स्रष्टाबारेको बहसलाई पुनः ताजा बनाएको छ । तर एडम ब्याकको अस्वीकार र ठोस प्रमाणको अभावका कारण यो रहस्य अझै पूर्ण रूपमा सुल्झिएको भने छैन । सातोशी नाकामोटो को हुन् भन्ने प्रश्न अझै पनि आधुनिक प्रविधि र वित्तीय इतिहासकै सबैभन्दा ठूलो अनुत्तरित रहस्यहरूमध्ये एक बनेको छ ।

Share News