एनआईबिएल सहभागिता फण्डको आकार १० अर्ब पुग्यो

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको ‘एनआईबिएल सहभागिता फण्ड’का इकाईहरू लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको छ ।

योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धि स्वीकृत भएसँगै इकाईधनीहरूको इकाई पुनः हितग्राही खातामा जम्मा गरिएको जानकारी दिएको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड विगत १३ वर्षदेखि मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकिङ सेवामा सक्रिय रहँदै आएको छ । कम्पनीले म्युचुअल फण्ड व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन, डिपोजिटरी सहभागी सेवा, निष्कासन व्यवस्थापन, सेयर प्रत्याभूति तथा सेयर रजिस्ट्रार सेवा प्रदान गर्दै आएको जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआइएमबि एस क्यापिटल योजना व्यवस्थापक रहेको ‘एनआईबिएल सहभागिता फण्ड’ नेपाल धितोपत्र बोर्डको सामूहिक लगानी कोष नियमावली, २०६७ अन्तर्गत दर्ता भएको देशकै पहिलो खुलामुखी म्युचुअल फण्ड हो । फण्डले इक्विटी, डिबेन्चर, फिक्स्ड डिपोजिट, ट्रेजरी बिललगायत स्थिर आयमूलक साधनमा लगानी गर्दै प्रतिफल सिर्जना गर्दै आएको छ । २०७६ असार २४ गतेदेखि सञ्चालनमा आएको यो खुलामुखी योजना नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभई योजना व्यवस्थापकमार्फत प्रत्यक्ष खरिद–बिक्री गर्न सकिने व्यवस्था रहेको छ ।

प्रारम्भिक रूपमा ६ अर्ब रुपैयाँ आकार (६० करोड इकाई) रहेको योजनालाई नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार २०८२ चैत ५ गतेदेखि लागू हुने गरी विस्तार गर्दै १० अर्ब रुपैयाँ (१ अर्ब इकाई) पुर्याइएको छ । आकार वृद्धि भएसँगै उक्त फण्ड नेपालका म्युचुअल फण्डहरूमध्ये सबैभन्दा ठूलो फण्ड बनेको कम्पनीले जनाएको छ ।

बीज पुँजीसम्बन्धी व्यवस्थाका कारण लामो समयदेखि इकाई वृद्धि हुन नसक्दा लगानीकर्ताका इकाई हितग्राही खातामा जम्मा हुन नसकेको अवस्थामा नयाँ निर्देशिका लागू भएपछि इकाईहरू पुनः जम्मा गरिएको कम्पनीले स्पष्ट पारेको छ । लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत आफ्नो खातामा इकाई सफलतापूर्वक क्रेडिट भएको पुष्टि गर्न सक्नेछन् ।

डिम्याट खातामा इकाई जम्मा गर्न ढिलाइ भएकोप्रति कम्पनीले क्षमायाचना गर्दै लगानीकर्ताले देखाएको धैर्यता र विश्वासप्रति धन्यवाद व्यक्त गरेको छ ।    

Share News