काठमाडौं । व्यावसायिक तरकारी खेती तथा तरकारी मूल्य शृङ्खलाको सुदृढीकरणमा जोड दिने उद्देश्यसहित कृषि विकास बैंक लिमिटेडले ‘व्यावसायिक तरकारी खेती’ थिममा आधारित २०८३ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको पात्रोमा विभिन्न तरकारीहरूको महत्त्व, उत्पादन विधि तथा पोषणसम्बन्धी जानकारी समेटिएको छ । किसान तथा सर्वसाधारणलाई उपयोगी कृषि ज्ञान प्रदान गर्ने लक्ष्यसहित पात्रो तयार गरिएको बैंकले जनाएको छ ।
पात्रोमा टमाटर, गाजर र आलुजस्ता प्रमुख तरकारीहरूको तस्बिरसँगै खेती प्रविधि, उपयुक्त मौसम, मलजल व्यवस्थापन तथा रोग नियन्त्रणका उपायहरू समावेश गरिएको छ । टमाटर खेतीका लागि आवश्यक तापक्रम र सिँचाइ व्यवस्थापनबारे जानकारी दिइएको छ भने गाजरमा पाइने भिटामिन ‘ए’ को महत्त्व र स्वास्थ्य लाभ उल्लेख गरिएको छ । साथै आलुको उत्पादन वृद्धि गर्न बीउ छनोट र खेत तयारीसम्बन्धी सुझावसमेत समेटिएका छन् ।
पात्रोमार्फत ‘सरल कर्जा’ र ‘आधुनिक कृषि’ सम्बन्धी सन्देश प्रवाह गर्दै बैंकले कृषकको वित्तीय पहुँच विस्तार गर्न प्रोत्साहन गरेको छ । कृषि ऋणको सहज उपलब्धता, व्यावसायिक खेतीतर्फ आकर्षण तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बैंकको भूमिकालाई पात्रोले स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।
समग्रमा कृषि विकास बैंक लिमिटेडको यो भित्ते पात्रो केवल मिति हेर्ने माध्यममा सीमित नभई कृषि ज्ञान र सचेतना फैलाउने प्रभावकारी उपकरणका रूपमा प्रस्तुत भएको छ। आधुनिक प्रविधि अपनाउन किसानलाई प्रेरित गर्दै तरकारी उत्पादन वृद्धि, पोषण सुरक्षा तथा आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।