काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास, विस्तार एवम् पहुँच अभिवृद्धिका लागि सबै मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताएका छन् ।
शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित नववर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्राधिकरणले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखी काम गर्दै आएको उल्लेख गर्दै उनले बीमा सम्बन्धी ऐन, नियम र निर्देशनहरू बमोजिम बीमा व्यवसायको गरिमा उच्च हुने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
कार्यकारी निर्देशक सुवेदीले बीमा क्षेत्रको विकास एवम् विस्तार, सुशासन कायम, नविनतम् प्रविधि अवलम्बन र बीमाको पहुँच विस्तारका लागि उपयुक्त वातावरण तयार गर्नका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरण सदैव तयार रहेको बताए।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेलले पछिल्लो समयमा बीमाको पहुँच उल्लेख्य रूपले बढ्दै गएर देशको झण्डै ५० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको र बीमा क्षेत्रका अधिकाङ्श परिसूचकहरू पनि सकारात्मक रहेको जानकारी दिए ।
निर्देशक ढुंगेलले जोखिम व्यवस्थापनका साथसाथै ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तारलाई प्राथमिकता दिएर बीमा क्षेत्रलाई सशक्त, विश्वसनीय, आधुनिक र समावेशी बनाउन सामूहिक प्रयासको आवश्यकता औंल्याए ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणले विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी प्रकाशन गरेको चित्रकथामा आधारित बीमा सम्बन्धी जानकारीमूलक पुस्तक ‘बीमाको चित्रकथाको सङ्गालो’ सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र नेपाल लघु जीवन बीमक संघका अध्यक्षहरूका साथै विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र प्राधिकरणका कर्मचारीहरूको सहभागिता रहेको थियो ।