काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटीले गोर्खालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित लक्जरी हेरिटेज ‘समिट होटल’ को बिहीबार शिलान्यास गरेको छ ।
काठमाडौंको ‘समिट होटल’बाट प्रेरित यस परियोजना आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने सीजी हस्पिटालिटीले जनाएको छ ।
सीजी हस्पिटालिटीका अनुसार सन् १९७८ मा स्थापित काठमाडौंको समिट होटलको विरासतलाई नयाँ स्वरूप दिँदै गोर्खामा निर्माण हुन लागेको यो परियोजनाले आधुनिक सुविधाहरूका साथै नेपाली मौलिकता प्रदान गर्नेछ ।

करिब ३० रोपनी क्षेत्रफलमा फैलिने यो परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष लिइएको छ । करिब ३० वटा लक्जरी कोठाहरू रहने यस होटलको रुम रेट करिब ५०० अमेरिकी डलर आसपास रहने छ । समिट होटलले नेपालभित्रका तथा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै स्तरीय सेवा प्रदान गर्नेछ ।
सीजी हस्पिटालिटीका अनुसार यस परियोजनाको मुख्य उद्देश्य गोर्खालाई नेपालका प्रमुख लक्जरी पर्यटन गन्तव्यहरूको सर्किटमा जोड्नु हो ।
ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण गोर्खा दरबार नजिकै निर्माण हुने यो परियोजनाले नेपालको इतिहास, मौलिकता र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । गोर्खा त्यही स्थल हो जहाँबाट पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गर्दै आधुनिक नेपालको निर्माण गरेका थिए ।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीले यो परियोजना नेपालको पर्यटन क्षेत्रमा चौधरी ग्रुपको निरन्तर विश्वास र प्रतिबद्धताको अर्को एउटा महत्त्वपूर्ण कदम रहेको बताए ।
समिट होटलले गोर्खा क्षेत्रमा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा नयाँ लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ । यसले पर्यटनमार्फत क्षेत्रीय विकासलाई गति दिने विश्वाससमेत गरिएको छ ।
केही दिनअघि मात्रै चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन होटलको शिलान्यास काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा गरेको थियो ।
सीजी हस्पिटालिटी ग्लोबलले हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी उपस्थितिलाई विस्तार गरिरहेको छ । हाल यसको पोर्टफोलियोमा १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन्, जसमा १५ हजारभन्दा बढी रुम क्यापासिटी रहेको छ ।
