काठमाडौं । सेवा निवृत्त कर्मचारीहरूलाई प्रदान गरिने पेन्सन सेवालाई थप प्रभावकारी र डिजिटलमैत्री बनाइएको छ । सरकारले सो सेवालाई थप सरल, सहज र नागरिकमैत्री बनाउने उद्देश्यले विकसित गरिएको ‘पेन्सन व्यवस्थापन सूचना प्रणाली’ शुक्रबार औपचारिक रूपमा शुभारम्भ गर्दै घरमै बसेर पेन्सन पाइने सुविधा गरेको हो ।
शुक्रबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणालीको उद्घाटन गरे । महालेखा नियन्त्रक कार्यालय र मातहतका निकायहरूबाट प्रदान गरिँदै आएका सेवाहरूलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो प्रणाली विकास गरिएको हो ।
नयाँ प्रणालीमार्फत अब सेवा निवृत्त कर्मचारीहरू- निजामती, शिक्षक, नेपाली सेना तथा प्रहरीले घरमै बसेर अनलाइन माध्यमबाट पेन्सनसम्बन्धी सेवा लिन सक्ने भएका छन् । यसका लागि निवृत्तभरण व्यवस्थापन कार्यालयको वेबसाइटमा गई ‘हाम्रो सेवाहरू’ अन्तर्गत रहेको सम्बन्धित बटनमा क्लिक गर्नुपर्नेछ ।
साथै, सेवासम्बन्धी जिज्ञासा वा समस्या समाधानका लागि प्रणालीमै ‘भिडियो ट्युटोरियल’ समेत उपलब्ध गराइएको छ, जसले प्रयोगकर्तालाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।
यस प्रणालीको कार्यान्वयनसँगै अब पेन्सन लिइरहेका कर्मचारीहरूले वार्षिक रूपमा बैंकमा उपस्थित भई प्रमाणीकरण गराउनु पर्ने झन्झट हटेको छ । त्यस्तै, पेन्सन खाता खोल्नका लागि निवृत्तभरण व्यवस्थापन कार्यालय धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको छ ।
सरकारले यो प्रणालीबाट सेवा निवृत्त कर्मचारीहरूलाई थप सहज, मितव्ययी र प्रभावकारी रूपमा सेवा उपलब्ध हुने अपेक्षा गरेको छ ।