फोनपेको बजार हिस्सा ९७ प्रतिशत, ४८ करोडमा किन्यो जग्गा

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) कम्पनी फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे)ले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ६१ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यसअघि कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ९७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीका अनुसार आव २०८०/८१ मा ७२ करोड ७० लाख रुपैयाँ, आव २०७९/८० मा ४४ करोड ६० लाख रुपैयाँ र आव २०७८/७९ मा २० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानीको प्रमुख स्रोत अन्तरबैंक कारोबार रहेको छ । कुल आम्दानीमध्ये करिब ९१ प्रतिशत हिस्सा अन्तरबैंक कारोबारबाट आएको छ भने करिब ७ प्रतिशत आम्दानी अनलाइन भुक्तानीबाट प्राप्त भएको कम्पनीले जनाएको छ । यो आम्दानीको संरचना पछिल्ला पाँच वर्षदेखि स्थिर रहेको कम्पनीको भनाइ छ । 

नेपालको फिनटेक क्षेत्रमा एफवान सफ्ट समूहको प्रभुत्व रहेको छ । उक्त समूहको पेमेन्ट सर्भिस प्रोभाइडर तथा अधिकांश बैंक तथा वित्तीय संस्थाहरूका लागि मोबाइल बैंकिङ एप विकासमा समेत बलियो उपस्थिति रहेको छ । कम्पनीका अनुसार फोनेपेको बजार हिस्सा क्यूआरमा आधारित कारोबार ९७ प्रतिशत र अन्तरबैंक रकम स्थानान्तरणमा ८६ प्रतिशत रहेको छ । सन् २०१९ को अक्टोबरमा स्थापित फोनेपे नेपालमा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अग्रणी भुक्तानी प्रणाली सञ्चालकका रूपमा चिनिन्छ । फोनेपे सन् २००४ देखि सञ्चालनमा रहेको एफवान सफ्ट समूहअन्तर्गतको कम्पनी हो । सन् २०२५ को मध्य जुलाईसम्मको तथ्यांकअनुसार एफवान सफ्ट इन्टरनेशनल प्रालिको ६६ प्रतिशत स्वामित्व रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त फोनेपेले अन्तरबैंक रकम स्थानान्तरण, अनलाइन भुक्तानी सेवा तथा क्यूआर कोडमार्फत इनस्टोर भुक्तानी लगायतका सेवा सञ्चालन गर्दै आएको छ । सन् २०२६ को मध्य-जनवरीसम्म आइपुग्दा फोनेपेले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थासँग आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । साथै अन्य भुक्तानी सेवा प्रदायकहरूसँगको सहकार्य पनि बढाउँदै लगेको छ । कम्पनीका अनुसार हाल फोनेपेको सञ्जालमा करिब १७ लाख व्यापारी (मर्चेन्ट) आबद्ध भइसकेका छन् ।

कम्पनीका अनुसार पछिल्ला दुई वर्षमा पुँजीमा प्रतिफल औसत करिब ५७ प्रतिशत रहेको छ भने चालु आवको ६ महिनामा करिब ५६ प्रतिशत रहेको छ । कम्पनीले हालसम्म न्यून लाभांश वितरण गर्दै आन्तरिक स्रोतलाई व्यवसाय विस्तारमा केन्द्रित गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँको १९ प्रतिशतका दरले ९ करोड ७८ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

मध्यजनवरी २०२६ सम्म कम्पनीसँग करिब ६४ करोड ७० लाख रुपैयाँ नगद तरलता रहेको छ, जुन यसको वार्षिक सञ्चालन खर्च (करिब ५०-५५ करोड रुपैयाँ)को तुलनामा सुदृढ मानिन्छ । साथै, कम्पनीले गत वर्ष ४७ करोड ९० लाख रुपैयाँमा कर्पोरेट कम्प्लेक्सका लागि जग्गा खरिद गरेको जनाएको छ । जग्गा खरिद गरे पनि तरलता सन्तुलित अवस्थामा रहेको जनाएको छ ।

कम्पनीले छिट्टै बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने योजना जनाएको छ । आईपीओ जारी भएपछि तरलता अझ सुदृढ हुने अपेक्षा कम्पनीले गरेको छ । तथापि, भविष्यमा हुने ठूला पुँजीगत खर्च, गैरलगानी वा ठूलो मात्रामा लाभांश वितरणले तरलतामा असर पर्न सक्ने कम्पनीले जनाएको छ । आगामी दिनमा विविध स्रोतबाट आम्दानी विस्तार गर्दै नाफामूलक सूचकहरू सुदृढ बनाउने कम्पनीको क्षमता नै यसको मूल्याङ्कनको मुख्य आधार रहनेछ ।

यस्तो छ कम्पनीमा नेतृत्व 

फोनपेको अध्यक्ष सशीन जोशी रहेका छन् । साथै सिद्धान्त ठाकुर र सम्भव सिरोहिया सञ्चालक रहेका छन् । यस्तै, कम्पनीको व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवश कुमार सापकोटाले गरिरहेका छन् । फोनेपेको सञ्चालक समिति तथा व्यवस्थापन टोलीको सूचना प्रविधि र फिनटेक क्षेत्रमा लामो अनुभवले कम्पनीको भावी व्यवसाय विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीका लागि चुनौति 

कम्पनीको आम्दानी अत्यधिक रूपमा अन्तरबैंक रकम स्थानान्तरण सेवामा निर्भर रहनु कम्पनीले चुनौतीको रूपमा लिएको छ । कम्पनीका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा ८५-९० प्रतिशत आम्दानी अन्तरबैंक रकम स्थानान्तरणबाट हुने गरेको छ । नियामकीय जोखिम पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ, किनकि नेपाल राष्ट्र बैंकले पीएसओ संस्थाहरूलाई नियमन गर्दै आएको छ । हाल प्रति कारोबार १० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था रहेको छ, जसमा करिब ६ रुपैयाँ फोनेपेको हिस्सा पर्छ । यस्तो शुल्क संरचनामा कुनै परिवर्तन भएमा कम्पनीको आम्दानी र नाफामा प्रत्यक्ष असर पर्न सक्ने जनाएको छ ।

यस्ता चुनौतीलाई न्यूनीकरण गर्न भर्चुअल क्रेडिट कार्ड, क्रसबोर्डर भुक्तानी जस्ता नयाँ सेवाहरू सुरु गरे पनि तीबाट हुने आम्दानी अझै न्यून स्तरमै सीमित रहेको कम्पनीले जनाएको छ । दीर्घकालीन रूपमा आम्दानी विविधीकरणका लागि अन्य नयाँ सेवा तथा उत्पादन विकास भइरहे पनि त्यसको प्रभाव अझै स्पष्ट हुन नसकेको कम्पनीको भनाइ छ ।

साथै प्रविधिगत परिवर्तन, साइबर सुरक्षा जोखिम तथा सेटलमेन्ट कारोबारमा प्रतिस्पर्धात्मक दबाब रहेको फोनपेले जनाएको छ । विशेषगरी नेपाल क्लियरिङ हाउस लिमिटेड जस्ता अन्य पीएसओ संस्थाहरूले तुलनात्मक रूपमा कम शुल्कमा सेवा प्रदान गरिरहेकाले प्रतिस्पर्धा बढ्दो छ । यसले कम्पनीलाई प्रविधि स्तरोन्नति तथा सुरक्षा प्रणालीमा निरन्तर लगानी गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । डिजिटल भुक्तानीलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले नियामक निकायले शुल्क घटाउने निर्णय गरेमा कम्पनीको आम्दानीमा उल्लेखनीय गिरावट आउन सक्ने जोखिम रहेको छ ।

Share News