निषेधित क्षेत्रमा हेलिकप्टर उद्धार उडानको प्रक्रिया सहज, गृह मन्त्रालयको निर्णयलाई वायुसेवा संचालक संघद्वारा स्वागत

काठमाडौं । नेपालका निषेधित क्षेत्रहरूमा हेलिकप्टरमार्फत गरिने उद्धार उडानको प्रक्रियालाई सरकारले सहज बनाएको छ । लामो प्रशासनिक प्रक्रियाका कारण समयमा उद्धार हुन नसक्ने समस्यालाई सम्बोधन गर्दै गृह मन्त्रालयले उद्धार उडान अनुमति कार्यलाई छिटो-छरितो बनाउने निर्णय गरेको हो ।

वायुसेवा संचालक संघ नेपालले विगत लामो समयदेखि निषेधित क्षेत्रमा उडान गर्दा झेल्नुपर्ने झन्झटिलो कागजी प्रक्रियाका कारण स्वदेशी नागरिक र बिरामी पर्यटकहरूको ज्यान जोखिममा परेको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएको थियो । संघले चैत १७ गते गृहमन्त्रीलाई पत्र लेखी विद्यमान व्यवस्थामा सुधार गर्न माग गरेको थियो ।

सोही मागका आधारमा गृह मन्त्रालयमा भएको छलफलपछि 'निषेधित क्षेत्र हेलिकप्टर उडान सम्बन्धी कार्य प्रक्रिया २०७५' को बुँदा नम्बर ५ बमोजिम तत्काल उद्धार कार्य गरी मन्त्रालयलाई जानकारी गराउने गरी प्रक्रिया अगाडि बढाउन संघलाई पत्राचार गरिएको छ ।

यस निर्णयसँगै अब आकस्मिक अवस्थामा निषेधित क्षेत्रमा उडान गर्न अनुमति पर्खिरहनुपर्ने झन्झट हटेको छ । सरकारको यो कदमले विशेषगरी दुर्गम क्षेत्रका बिरामी र पर्यटकहरूको समयमै उद्धार गर्न ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसैबीच, वायुसेवा संचालक संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको यो सकारात्मक पहलकदमीका लागि कृतज्ञता व्यक्त गरेको छ ।

प्रक्रियागत सरलीकरणले हवाई सेवा प्रदायकहरूलाई मानवीय सहायताका कार्यमा थप प्रभावकारी रूपमा खटिन मद्दत पुग्ने संघको भनाइ छ ।

Share News