काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूको व्यावसायिक, उत्पादन तथा प्रसारण अधिकार बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । संघले शुक्रबार (आज) एक सूचना जारी गर्दै राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत योग्य बोलपत्रदाताहरूबाट आवेदन माग गरेको हो ।
क्यानका विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरूको व्यावसायिक प्रवर्द्धन, भिडियो उत्पादन र प्रत्यक्ष प्रसारण अधिकार तथा यो बोलपत्र सिंगल स्टेज सिंगल एभलप प्रक्रिया अन्तर्गत छनोट गरिने सूचनामा उल्लेख छ ।
इच्छुक बोलपत्रदाताहरूले काठमाडौंको मुलपानी- ६ स्थित नेपाल क्रिकेट संघको कार्यालयबाट थप जानकारी लिन सक्नेछन् ।
पछिल्लो समय नेपाली क्रिकेटको बढ्दो क्रेज र अन्तर्राष्ट्रिय सहभागितासँगै क्यानले आफ्ना प्रतियोगिताहरूलाई थप व्यावसायिक बनाउन र गुणस्तरीय प्रसारण सुनिश्चित गर्न यो कदम चालेको हो ।
बोलपत्र खरिद र दर्ता सम्बन्धी विस्तृत सर्तहरू आधिकारिक बोलपत्र दस्ताबेजमा उपलब्ध गराइएको संघले जनाएको छ ।