काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवालाई तत्काल स्वदेश फर्किएर प्रहरी अनुसन्धानलाई सघाउन आग्रह गरेका छन् ।
गण्डकी कांग्रेसले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी समीक्षा कार्यक्रममा बोल्दै उपसभापति शर्माले देउवा दम्पतीलाई कानुनी प्रक्रियामा सहयोग गर्न पार्टीले आधिकारिक सन्देश पठाइसकेको जानकारी दिए । गत मंगलबार सम्पत्ति शुद्धीकरणको अभियोगमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कांग्रेसको धारणा सार्वजनिक गर्दै शर्माले यस्तो बताएका हुन् ।
‘निवर्तमान सभापति शेरबहादुर देउवा र डा. आरजु देउवालाई देश फर्किएर कानुनी प्रक्रियालाई सघाउन पार्टीको सुझाव छ,’ शर्माले भने, ‘हामीले उहाँहरू समक्ष पार्टीको यो सन्देश पठाइसकेका छौं ।’
सोही अवसरमा उपसभापति शर्माले सरकारलाई पनि कुनै राजनीतिक प्रतिशोध वा पूर्वाग्रह नराखी निष्पक्ष अनुसन्धान गर्न ध्यानाकर्षण गराए । ‘कुनै पनि पूर्वाग्रह नराखी अनुसन्धान र व्यवहार गर्न सरकारलाई कांग्रेसको आग्रह छ,’ उनले भने ।
निवर्तमान सभापति देउवाले भने बुधबार एक वक्तव्य जारी गर्दै आफूमाथि लागेको आरोपलाई अस्वीकार गरेका थिए । उनले आफूविरुद्ध भ्रामक प्रचारबाजी गरिएको दाबी गर्दै आएका छन् । देउवा दम्पती हाल उपचार र अन्य सिलसिलामा मुलुक बाहिर रहेका छन् ।