बिस्केट जात्रा वैशाख १ देखि ४  गतेसम्म मनाइने, एकदिन सार्वजनिक विदा

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ । टोखा बिस्केट जात्रा मूल व्यवस्थापन समितिले नेवार समुदायको बाहुल्य रहेको टोखामा अगामी वैशाख १ गतेदेखि ४ गतेसम्म बिस्केट जात्रा मनाउन लागिएको जानकारी दिएको हो ।

समितिका सह-संयोजक गणेशमान श्रेष्ठले जात्रालाई व्यवस्थित र मर्यादित बनाउनका लागि शान्तिसुरक्षा, स्वयंसेवक व्यवस्थापन, पार्किङ व्यवस्थापन, यातायात व्यवस्थापन, बाजा गाजा व्यवस्थापन, रथ जात्रा व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको जानकारी दिए ।

चैत मसान्तबाट सुरु हुने बिस्का जात्रा मुख्यतः ४ दिने मनाइने गरिन्छ । भक्तजन मसान्तको बिहान शिवपुरीस्थित वाग्द्वार स्नान गर्न जान्छन् । वाग्द्वारबाट सोही दिन राति चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरमा आउने प्रचलन रहेको छ । 

सपनतीर्थ मन्दिर परिसरमा गौमुखी र बहुमुखी खोला थुनेर निर्माण गरिएको सिद्वपोखरीमा भक्तजनले नयाँ वर्ष सुरु हुँदै गर्दा वैशाख १ गते बिहानै नुहाउने गर्दछन् । मसान्तको दिन साँझ सपनविनायकको रथ, चण्डेश्वरीको रथ र मसानकालीको रथ ‘जाली द्यो’का रूपमा बाजागाजासहित जात्रा गरी इन्द्रायणी दाफा खलःले मूल नाइके बहाल गरी रथ आ–आफ्नो मन्दिरमा लैजान्छन् ।

नयाँ वर्षकै दिन साँझ ६ बजे आ-आफ्नो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइने गरिएको छ ।

वैशाख २ गते बिहान तीन वटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर ११ बजे थलागः टोलमा लस्करै बिसाइन्छ ।

सोही दिन अपरान्ह ३ बजे जीवित गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याई सिन्दूरजात्रा गरी उठाइन्छ । सोही दिन साँझ गाउँ परिक्रमा गरी साँझ ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइन्छ । सोही रात भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

आगमी वैशाख ३ गते बिहान ७ बजे तपलाक्षीःबाट सिन्दूरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गर्न लैजाने गर्दछन् । सोही दिन बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइन्छ । सोही दिन अपरान्ह ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिन्छ । मसानकालीको  मन्दिर र  गाउँको परिक्रमा गरी कोनेलाक्षीःमा बिसाइन्छ । सोही रात पनि भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान ६:३० बजे सिन्दूरजात्रा गरी सारा बाजागाजासहित गाउँ परिक्रमा गर्न लगिन्छ र बिहान ११ बजेतिर गच्छे टोलमा बिसाइन्छ । सोही दिन अपरान्ह ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सबै रथ कपडा बिच्छ्याइ गाउँ परिक्रमा गरी आ-आफ्नो देवी घरघरमा भित्र्याइन्छ । त्यसबाट जात्रा समापन हुन्छ । वैशाख ५ गते बिहान ६:३० लिङ्गो ढाली जात्रा विसर्जन हुन्छ ।

सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाभित्रका ऐतिहासिक पर्वलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताए । टोखाको जात्रा व्यवस्थापनका लागि नगरपालिकाले बजेट विनियोजन गरेको उनकाे भनाइ छ । टोखाले जात्राका अवसरमा एकदिन टोखा नगरपालिकाभर र २ दिन जात्रा लाग्ने वडा नं २ र ३ मा विदा दिने गरेको छ ।

Share News