काठमाडौं । कोरोना महामारीको समयमा करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ अहिले प्रयोग विहीन बनेका छन् । तत्कालीन आवश्यकताअनुसार भारतबाट फर्किने नागरिकलाई व्यवस्थापन गर्न बनेका संरचना प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका हुन् ।
त्यतिबेला सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघारी क्षेत्रमा २९ करोड २५ लाख रुपैयाँमा १ हजार बेड क्षमताका २० वटा संरचना, ५० बेड क्षमताका २ संरचना स्वास्थ्यकर्मीका लागि र २२ वटा शौचालय र १५ भान्सा लगायतका संरचना निर्माण गरेको थियो । उक्त संरचना प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका छन् ।
सरकारले करोडौं खर्च गरेर निर्माण गरेका संरचना जीर्ण बन्दै गएकाले यथाशिघ्र प्रयोगमा ल्याउनुपर्ने स्थानीयको माग छ । ‘अहिले लागूऔषध दुर्व्यसनको अवस्था भयावह छ । त्यसलाई सुधार केन्द्रका रूपमा सञ्चालन गर्न सकिन्छ,’ स्थानीय रमेश जोशीले भने, ‘राज्यको ठुलो रकम खर्च भएको छ कुनै न कुनै रूपमा प्रयोगमा आउनुपर्छ ।’
नजिकै रहेको महाकाली प्रादेशिक अस्पताल छ । अस्पतालमा उपचार गराउन आउने क्षयरोग र टीभीका बिरामीका लागि बस्ने व्यवस्था नभएकाले क्षयरोग उपचार केन्द्रका रूपमा सञ्चालन गर्नुपर्ने गणेश बमले जानकारी दिए । ‘यहाँ क्षयरोग, टीभीका बिरामीले बस्ने व्यवस्था छैन यसको केही भागलाई क्षयरोग र टीभीका बिरामीका लागि प्रयोग गर्दा उपयुक्त हुन्छ,’ उनले भने ।
स्थानीय प्रशासनले लामो समयदेखि प्रयोग विहीन बनेका ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याउन वैकल्पिक उपायको खोजी सुरु गरेको छ । प्रयोग विहीन ‘होल्डिङ सेन्टर’ प्रयोगमा ल्याउनका लागि विभिन्न विकल्पमा छलफल भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए ।
‘यसअघि पनि ‘होल्डिङ सेन्टर’ प्रयोगमा ल्याउन विभिन्न विकल्पमा मन्त्रालयमा पत्राचार भएको रहेछ । उक्त संरचनालाई प्रयोगमा ल्याउन छलफल भइरहेको छ । अध्ययन गरेर केही दिनमा टुङ्गोमा पुग्नेछ,’ प्रजीअ कोइरालाले भने ।
यसअघि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन उप-समितिले ‘होल्डिङ सेन्टर’ प्रयोगमा ल्याउन चार विकल्प प्रस्ताव गरेको थियो । सो अध्ययन समितिले १ हजार क्षमताको संरचनाको २५/३० प्रतिशत विपदको प्रयोगका लागि र बाँकी लागूऔषध दुर्व्यसनीमा फसेकाका लागि पुनःस्थापना केन्द्र, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने प्रस्ताव मन्त्रालयमा पठाएको थियो । सङ्घीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघारीमा १ हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण गरेको हो ।
२९ करोड २५ लाख रुपैयाँमा ठेक्का सम्झौता हनुमान कन्स्ट्रक्सन होल्डिङ सेन्टर निर्माण गरेको हो ।