अमेरिका–इरान वार्ताका लागि पाकिस्तानले इस्लामावादलाई तयार पार्दै

काठमाडौं । हालै घोषित दुई हप्ते युद्धविरामपछि मध्यपूर्वमा जारी तनाव कम गर्ने उद्देश्यले हुन लागेको उच्चस्तरीय वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डल इस्लामावाद पुग्ने भएपछि पाकिस्तानले सुरक्षा र व्यवस्थापकीय तयारीलाई तिब्र बनाएको छ ।

हप्तौँदेखि बढ्दै गएको द्वन्द्वपछि दीर्घकालीन समाधान खोज्ने कूटनीतिक प्रयासको हिस्साका रूपमा यस वार्तामा दुवै देशका वरिष्ठ अधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । 

गृहमन्त्री मोहसिन नाक्वीले बिहीबार विदेशी प्रतिनिधिहरूका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक विस्तृत योजना तयार गरिएको बताउनुभएको छ । इस्लामावादका अधिकारीहरूले वार्ताको पूर्वसन्ध्यामा व्यापक सुरक्षा उपायहरू लागू गरेका छन् ।

व्यवस्थापनलाई सहज बनाउन जुम्ल्याहा सहर इस्लामावाद र रावलपिन्डीमा स्थानीय बिदा घोषणा गरिएको छ । ‘ब्लु बुक’ भीभीआईपी प्रोटोकल अन्तर्गत प्रहरी, अर्धसैनिक बल र अन्य सुरक्षा निकायहरू परिचालन गरिएको छ भने विदेशी प्रतिनिधिमण्डलको आवागमनका लागि छुट्टाछुट्टै मार्गहरू निर्धारण गरिएका छन् । 

इस्लामावाद प्रहरीले एक्सप्रेस राजमार्गमा सवारी साधनहरू अन्यत्र मोडिने जानकारी दिँदै ट्राफिक एडभाइजरी जारी गरेको छ । उद्धार सेवा र अस्पतालहरूलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखिएको छ । रेड जोनमा रहेको पाँचतारे होटल सेरेना पूर्ण रूपमा प्रतिनिधिमण्डलका लागि मात्र आरक्षित गरिएको छ भने उनीहरूको बसाइका क्रममा राजधानी प्रवेश गर्ने धेरै नाकाहरू सिल गरिनेछन् । 

दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारले क्षेत्रीय नेताहरूसँग परामर्श गर्नुका साथै तेहरान र वासिङ्टनसँग कूटनीतिक सम्पर्क कायम राखेका छन् । सबै सरोकारवालाहरूसँगको पुरानो सम्बन्ध र पाकिस्तानको तटस्थताले संवादलाई अघि बढाउन विशेष भूमिका खेल्ने विश्लेषण विश्लेषकहरूले गरेका छन् ।    

Share News