अध्यागमन विभागले भन्यो - वैदेशिक रोजगारमा जाने नेपालीले श्रम स्वीकृति र राहदानी मात्र देखाउनू

काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपालीले श्रम स्वीकृति र राहदानी मात्र अध्यागमन विभागमा देखाउनु पर्ने भएको छ । नेपाली श्रमिकहरूले नेपाल बाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल र रसिद पेश गर्नु नपर्ने भएको हो ।

भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाईटिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणा सहित विदेश प्रस्थान सरलीकृत र व्यवस्थित रहेको विभागले उल्लेख गरेको छ ।

विदेश यात्रा गर्ने नेपालीले कुनै पनि किसिमको भ्रममा नपरी आफ्नो गन्तव्य मुलुक र यात्राको बारेमा पूर्ण रूपमा जानकारी लिएर यात्रा गर्न अध्यागमन विभागले अनुरोध गरेको छ ।

वैदेशिक रोजगार विभागबाट चैत २३ गते जारी भएको सूचना तथा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान हुने नेपाली श्रमिकहरूले बिल र रसिद लगायतका थप कागजात लिएर मात्र प्रस्थान गर्न मिल्ने सम्बन्धमा आम सर्वसाधारणमा उत्पन्न अन्यौलता प्रति यस विभागको ध्यानाकर्षण भएको जनाएको छ ।

Share News