श्री एयरलाइन्सको आम्दानी ५.१० करोड रुपैयाँ, २ सयमा आईपीओ बिक्री गरेर बैंकको ऋण तिर्ने

काठमाडौं । श्री एयरलाइन्सले ६ महिनामा साढे २ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो । गत आव २०८१/८२ को ६ महिनामा २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब १० करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेका छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी २५.४६ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७० लाख रुपैयाँ बढी हो । आव २०८०/८१ मा कम्पनीले ४ अर्ब ७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीले आव २०७९/८० मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र आव २०७७/७८ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको आम्दानी दुई प्रमुख रुटमा मात्रै केन्द्रित छ । काठमाडौं-नेपालगञ्ज र काठमाडौं-धनगढी रुटबाट मात्रै करिब ५१ प्रतिशत आम्दानी हुने गरेको कम्पनीले जनाएको छ । यो आम्दानीको हिस्सा अघिल्लो वर्ष ५९ प्रतिशत थियो । साथै चालु आवको ६ महिनामा घटेर ४८ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ ।   

कम्पनीले नयाँ टर्बोप्रप विमान थपेपछि काठमाडौं-सुर्खेतबाट हुने आम्दानी बढेको जनाएको छ । गत वर्ष सो रुटबाट ९ प्रतिशत आम्दानी भएको कम्पनीले जनाएको छ । साथै कम्पनीको कुल आम्दानीमध्ये करिब ९२ प्रतिशत विमानबाट र ८ प्रतिशत मात्र हेलिकप्टरबाट आउने गरेको छ ।

श्री एयरलाइन्सले आन्तरिक हवाइ क्षेत्रमा १९ प्रतिशत (सन् २०२५ जुलाईसम्म) हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको जनाएको छ ।

null

कम्पनीका अनुसार कुल सञ्चालन खर्चमा इन्धन खर्चको हिस्सा ठ्याक्कै आधा रहेको छ । गत वर्ष इन्धन खर्च मात्रै करिब ५० प्रतिशत भएको थियो । यसले भाडा वृद्धि गर्न बाध्य पार्न सक्ने र यात्रु संख्या घट्न सक्ने चुनौती कम्पनीले जनाएको छ । साथै मध्यपूर्वमा जारी द्वन्द्वका कारण एभिएसन टर्बाइन फ्युलको मूल्य एक्कासी दोब्बर बढ्दा कम्पनीको लागतमा दबाब परेको कम्पनीले जनाएको छ । यस्तै, तीव्र प्रतिस्पर्धाका कारण एयरलाइन्सहरूले सहजै मूल्य वृद्धि गर्न नसक्ने भएकाले नाफामा प्रत्यक्ष असर पर्ने कम्पनीले जनाएको छ ।

एयर अनन्याको नाममा सन् १९९९ मा स्थापित कम्पनीले पछि नम परिवर्तन गर्दै श्री एयरलाइन्स बनेको हो । साढे दुई दशकदेखि नेपाली हवाई क्षेत्रमा सञ्चालनमा रहेको यस कम्पनीका मुख्य लगानीकर्ता सुधीर मित्तल हुन् । यसका संस्थापक अध्यक्ष भने बनवारीलाल मित्तल (स्वर्गीय) हुन् । मित्तलको यस कम्पनीमा ९९.८९ प्रतिशत सेयर लगानी छ । कार्यकारी अध्यक्ष मित्तलसँग उड्डयन क्षेत्रमा डेढ दशक भन्दा बढी अनुभव छ ।

आन्तरिक पर्यटन उद्योगमा नियमित उडान सेवा प्रदान गर्दै आएको श्रीएयरलाइन्सले हेलिकप्टर चार्टर सेवा समेत उपलब्ध गराउँछ । एयरलाइन्ससँग हाल ९ वटा बम्बार्डियर विमान सञ्चालनमा रहेका छन् । जसमध्ये २ जेट र ७ टर्बोप्रप हुन् । कम्पनीका अनुसार २ वटा लिजमा सञ्चालन भइरहेका छन् । त्यसैगरी हेलिकप्टरतर्फ ६ वटा एमआई-८ र २ वटा एयरबस हेलिकप्टर रहेको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीसँग १८ वटा विमान थिए । तर, इन्धन बढी खपत गर्ने सीआरजे विमान बिक्री गरेपछि हाल १७ वटामा सीमित रहेको कम्पनीले जनाएको छ ।

श्रीएयरलायन्स संयुक्त राष्ट्रसंघ र वर्ल्ड फूड प्रोग्रामद्वारा मान्यता प्राप्त सेवा प्रदायक सूचीमा समावेश हुने पहिलो नेपाली एयरलाइन्स समेत हो । 

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ६८ करोड २३ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये ३ अर्ब २५ करोड ८६ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीको कुल ऋण ५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ थियो । 

कम्पनीका अनुसार कुल ऋण तिर्न लाग्ने समय १२ वर्षबाट घटेर ५ वर्षमा झरेको छ । प्रवर्द्धकबाट थप पुँजी लगानी, नियमित ऋण भुक्तानी तथा नाफा वृद्धिले वित्तीय आधार थप बलियो बन्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने निर्णय गरिसकेको छ । आईपीओ पश्चात् कम्पनीले ऋण अझ घट्ने अपेक्षा गरेको छ । 

कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १ सय रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय रुपैयाँका दरले ६३ लाख कित्ता सेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेपश्चात् कम्पनीले कुल १ अर्ब २६ करोड रुपैयाँ बराबरको पुँजी सर्वसाधारण लगानीकर्ताबाट संकलन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

Share News